काठमाडौं । राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद अघि बढाउने उद्देश्यले सरकारद्वारा गठन गरिएको राजनीतिक संवाद समितिले मंगलबार प्रमुख तीन दलका केन्द्रीय कार्यालयमै पुगेर छलफल गर्ने भएको छ।

दल–सरकारबीच देखिएको असमझदारी कम गर्न र पछिल्ला राजनीतिक घटनाक्रमबारे साझा बुझाइ बनाउन समिति फिल्डमै पुगेर संवाद गर्न लागिएको हो। समितिमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य छन्।

ad

समितिको कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा छलफल हुनेछ। त्यसपछि दिउँसो १ बजे नेकपा एमालेको पार्टी कार्यालय च्यासल र ३ बजे नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा पुगेर संवाद गर्ने कार्यक्रम तय गरिएको छ।

सरकारले मन्त्रीहरू नै सम्मिलित समिति बनाएर दलहरूसँग छलफल गर्नुलाई पछिल्लो समय देखिएको राजनीतिक तनावलाई संवादमार्फत समाधान खोज्ने प्रयासका रूपमा हेरिएको छ।

तीनै दलका केन्द्रीय कार्यालयहरू हालै जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडको चपेटामा परेका थिए। त्यसपछि दलहरू र सरकारबीच सुरक्षा, राजनीतिक स्थायित्व र आन्दोलन व्यवस्थापनलगायत विषयमा समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

संवाद समितिले दलहरूको धारणा संकलन गर्दै सहमतिको साझा आधार तयार गर्ने र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ।