
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र काठमाडौं–१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिसलाई लिएर आन्तरिक विवाद सतहमा आएको छ। सो क्षेत्रमा नेता रविन्द्र मिश्रको नाम अघि सारिएको अवस्थामा अर्का वरिष्ठ नेता पशुपति शमशेर राणाको नाम पनि सिफारिस भएपछि पार्टीभित्र असमझदारी देखिएको हो।
पार्टीको एक समूहले मिश्रसहितको नाम केन्द्रमा पठाए पनि अर्को पक्षले राणासहित केही नेताको नाम थपेर सिफारिस गरेपछि विषय पेचिलो बनेको छ। यसैक्रममा मिश्र र राणाबीच भएको भेटघाटको भिडियो सार्वजनिक भएपछि विवादले थप चर्चा पाएको छ।
सार्वजनिक भएको भिडियोमा राणाले काठमाडौं–१ बाट आफ्नो नाम कसले र किन सिफारिस गर्यो भन्नेबारे आफू अनभिज्ञ रहेको बताएका छन्। उनले सो क्षेत्र आफूलाई खासै परिचित नभएको उल्लेख गर्दै त्यहाँबाट चुनाव लड्ने कुनै योजना नरहेको स्पष्ट पारे।
‘म काठमाडौं–१ बाट उम्मेदवार बन्ने सोचमै छैन,’ राणाले भिडियोमा भनेका छन्, ‘मेरो नाम कसरी सिफारिस भयो, त्यसबारे मलाई जानकारी छैन।’
मिश्रले सो भेटमा तपाईंलाई जानकारी नै नदिई नाम सिफारिस गरिएको हो भन्ने प्रश्न गर्दा राणाले त्यसमा आफू संलग्न नरहेको दोहोर्याएका छन्। ‘को–कोले के निर्णय गरे, मलाई थाहा छैन,’ उनले भने, ‘तर यो स्पष्ट हो कि म यो क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छैन।’
फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलभित्र उम्मेदवार छनोटलाई लिएर रस्साकस्सी बढ्दै गएको छ।
राप्रपामा काठमाडौं–१ को उम्मेदवारी विवादले आन्तरिक समन्वय र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ।









Facebook Comments