काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमै हुने स्पष्ट संकेत गर्दै चुनावलाई लिएर अनावश्यक शंका नगर्न आग्रह गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले शान्ति सुरक्षाको आवश्यक व्यवस्था सुनिश्चित गरिसकेको बताउँदै निर्वाचनको वातावरण सुरक्षित रहेको दाबी गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी सर्वपक्षीय छलफलमा बोल्दै भण्डारीले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्नु राजनीतिक दलहरूको पनि साझा दायित्व भएको बताए। निर्वाचनलाई प्रभावित पार्ने गरी अनावश्यक आशंका फैलाउनु उचित नहुने उनको भनाइ थियो।

ad

उनले प्रविधिको प्रयोगको नाममा निर्वाचन सार्ने वा ढिलाइ गर्ने बहानाबाजी नगर्न दलहरूलाई सचेत गराए। ‘समयमै चुनाव गर्न नसकेको जिम्मेवारी निर्वाचन आयोगमाथि थोपर्ने प्रयास स्वीकार्य हुँदैन,’ उनले स्पष्ट पारे।

भण्डारीले आयोगको कार्यपद्धति स्पष्ट गर्दै निर्वाचनसम्बन्धी सबै निर्णय राजनीतिक दल, सरकारका प्रतिनिधि र नागरिक समाजका अगुवासँग छलफल गरेर सामूहिक रूपमा गरिने बताए। विधि, पद्धति र प्रविधिका आधारमा सहमतिमा पुगेपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुन नसकेकोप्रति उनले असन्तोष व्यक्त गरे। सम्बन्धित निकायहरूले आफ्नो कानुनी दायित्व पूरा नगरेको आरोप पनि उनले लगाए।

निर्वाचन आयोग ऐन निर्माण गर्ने निकाय नभएको स्मरण गराउँदै भण्डारीले संविधानबमोजिम बनेका ऐनअनुसार आयोगले नियम बनाउने स्वायत्तता मात्रै राख्ने बताए। एकपटक निर्वाचन घोषणा भएपछि बनिसकेका नियम परिवर्तन नगर्ने आयोगको अभ्यास रहेको उनको भनाइ छ।

उनका अनुसार निर्वाचन आचारसंहिता तर्जुमा भइसकेको छ र यसबारे दलहरूसँग थप छलफलपछि कहिलेदेखि लागू गर्ने भन्ने विषयमा सहमति गरिनेछ।

निर्वाचनसम्बन्धी विद्यमान १० कानुनमध्ये तीन संशोधन र सात खारेज गरी एकीकृत कानुन आवश्यक रहेको उल्लेख गर्दै भण्डारीले निर्वाचन व्यवस्थापनसम्बन्धी ऐनको मस्यौदा दुई वर्षअघि नै सरकारलाई बुझाइसकिएको जानकारी दिए।

निर्वाचन आयोगले सबै सरोकारवालासँग निरन्तर संवाद गर्दै सामूहिक निर्णयका आधारमा चुनाव सम्पन्न गर्ने तयारीमा रहेको भन्दै भण्डारीले निर्वाचनबारे आशंका गर्नुको सट्टा सहयोग गर्न राजनीतिक दलहरूलाई आग्रह गरे।