
नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संयुक्त नेपाली डायस्पोरा संगठन (UNDO) को दोस्रो वार्षिक साधारण सभा तथा अष्ट्रेलियास्थित डा. शेष घले र जमुना गुरुङद्वारा स्थापित MIT फाउन्डेसनको साझेदारीमा आयोजित ‘नेपाल बियोण्ड बोर्डर्स’ (NBB) सम्मेलन दक्षिण कोरियाको राजधानी सिउलमा सम्पन्न भएको छ।
डिसेम्बर २१ मा आयोजित यस विशेष समारोहको उद्घाटन नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराई, UNDO का सभापति सोनाम लामा र MIT फाउन्डेसनका अध्यक्ष डा. शेष घलेले संयुक्त रूपमा बिरुवामा पानी हालेर गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथि भट्टराईले नेपाल र कोरियाबीचको कुटनैतिक, पर्यटकीय र प्रविधिगत साझेदारीलाई सुदृढ बनाउन यस्ता सम्मेलनले कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
सम्मेलनको मुख्य आकर्षणका रूपमा रहेका तीनवटा विशेष सत्रहरूमा आर्थिक समृद्धि, पर्यटन र वैदेशिक लगानीका विविध पक्षमा गहन छलफल भएको थियो। पहिलो सत्रमा आर्थिक भविष्य र नीतिगत सुधारका विषयमा डा. शेष घले लगायत कोरियाली विज्ञहरूले चर्चा गर्नुभएको थियो भने दोस्रो सत्रमा पर्यटन र डायस्पोरालाई आर्थिक वृद्धिको संवाहक बनाउने विषयमा जमुना घले गुरुङ र नियोग उपप्रमुख भट्टराईले धारणा राख्नुभएको थियो। त्यस्तै, तेस्रो सत्रमा भिजनदेखि भेन्चरसम्मको यात्रा र साझेदारी सुदृढीकरणका विषयमा व्यावसायिक विज्ञहरूबीच विमर्श भएको थियो। कार्यक्रममा बोल्दै डा. घले र सभापति लामाले संस्थाका हरेक गतिविधि विशेषगरी नयाँ पुस्ता (Next Generation) लाई लक्षित गरी केन्द्रित गरिएको बताउनुभयो।
सम्मेलनसँगै सम्पन्न UNDO को दोस्रो वार्षिक साधारण सभाले आगामी सन् २०२५–२०२७ का लागि महत्त्वाकांक्षी रणनीतिक योजना पारित गरेको छ। संस्थाका प्रवक्ता कृष्ण केसीले प्रस्तुत गर्नुभएको योजना अनुसार अबको दुई वर्षमा विश्वका २६ भन्दा बढी देशमा संगठन विस्तार गर्ने र संस्थालाई संख्यात्मकभन्दा गुणात्मक रूपमा सबल बनाउने लक्ष्य लिइएको छ।
सभाले कोषाध्यक्ष उल्का घिमिरेको आर्थिक प्रतिवेदन र सचिव डा. संगीता कार्की कुँवरको वार्षिक प्रगति प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ। डायस्पोरामा पहिलोपटक विदेशी विज्ञ, उद्यमी र सरकारी निकायको सहभागितामा सम्पन्न यस सम्मेलनले निकालेका निष्कर्षहरूलाई प्रतिवेदनका रूपमा नेपाल सरकार समक्ष बुझाउने र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता समेत संस्थाले जनाएको छ।










Facebook Comments