
काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारलाई चार दिनको समयसीमा दिँदै आफ्ना माग सम्बोधन नभए आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नदिने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमाथि दबाब बढाउँदै कडा चेतावनी सार्वजनिक गरेका हुन्।
प्रसाईंले नागरिक बचाउ अभियान र जेनजी युवा पुस्ताले अघि सारेका माग पूरा गर्न यही पुस १० गतेसम्मको अल्टिमेटम सरकारलाई दिएको जानकारी दिए। तोकिएको समयभित्र सरकारले संवाद र समाधानको पहल नगरे आन्दोलनलाई थप कडा बनाइने उनको भनाइ छ।
उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालप्रति लक्षित गर्दै वार्ताको नाममा अल्मल्याउने काम नगर्न चेतावनी दिए। प्रसाईंका अनुसार हालसम्म ६० भन्दा बढी राजनीतिक दल र जेनजी युवा पुस्ताले अभियानलाई समर्थन जनाइसकेका छन्, जसका कारण आन्दोलनलाई बलियो आधार प्राप्त भएको उनको दाबी छ।
प्रसाईंले निर्वाचनको औचित्यमाथि प्रश्न उठाउँदै माग पूरा नभए चुनावको वातावरण नै बन्न नदिने स्पष्ट पारे। ‘हाम्रा र जेनजीका माग सम्बोधन भए मात्रै देशमा फेरि निर्वाचनको कुरा हुन्छ,’ उनले भने, ‘नत्र उही पात्रलाई दोहोर्याउन चुनाव किन ? त्यसैले फागुन २१ गते चुनाव हुँदैन।’
उनले वर्तमान सरकारलाई विदेशी शक्तिको प्रभावमा बनेको आरोपसमेत लगाए। पश्चिमी शक्तिहरूको डिजाइनअनुसार सरकार गठन भएको भन्दै त्यसले जनताको अपेक्षा पूरा गर्न नसकेको उनको टिप्पणी थियो।
सरकारले भने यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको छैन। तर प्रसाईंको चेतावनी र अल्टिमेटमले निर्वाचनको तयारी र समग्र राजनीतिक वातावरण थप संवेदनशील बन्दै गएको संकेत देखिएको छ।









Facebook Comments