काठमाडौं । मधेस प्रदेस सभाका नवनिर्वाचित सभामुख रामआशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभाबाट आइतबारै सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ ग्रहण गरेका हुन् ।

उनलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराए । यसअघि आइतबारै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा यादव निर्वाचित भएका थिए । 

ad

उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दिएका थिए । निर्वाचनका क्रममा प्रदेश सभामा उपस्थित कुल ९६ सदस्यहरूमध्ये यादवको पक्षमा ७२ मत परेको थियो। 

उनको विपक्षमा भने २४ मतमात्र खसेको थियो । यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए ।

अर्कोतर्फ नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले भने उनको विपक्षमा मतदान गरेका थिए । यादवको पक्षमा स्पष्ट बहुमत पुगेकाले सभामुख पदका अर्का उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावमाथि भने मतदान गर्नै परेन ।