
काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाली प्रारम्भिक राष्ट्रिय टोली सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघले घोषणा गरेको २४ सदस्यीय प्रारम्भिक टोलीमा विश्वकप छनोट खेलेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका नयाँ अनुहारहरूलाई पनि अवसर दिइएको छ।
प्रारम्भिक टोलीमा छनोट खेलेका १५ खेलाडीबाहेक थप नौ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। एनपीएलमा प्रभावशाली प्रदर्शन गरेका शेर मल्लसहित विनोद भण्डारी, सन्दीप जोरा, अविनाश बोहरा, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, प्रतिश जिसी र रुपेस कुमार सिंह टोलीमा समेटिएका छन्। यसलाई आगामी विश्वकपलाई लक्षित गर्दै टोली विस्तार र प्रतिस्पर्धा बढाउने प्रयासका रूपमा हेरिएको छ।
घोषित प्रारम्भिक टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, ललित राजवंशी, करण केसी, नन्दन यादव, आरिफ सेख, सन्दीप लामिछाने, आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, लोकेस बम, साहब आलम, आदील अन्सारीलगायत अनुभवी र युवा खेलाडीको मिश्रण देखिन्छ।
नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। बलिया टोलीहरू समेटिएको समूहमा नेपालका लागि प्रत्येक खेल चुनौतीपूर्ण रहने अनुमान गरिएको छ।
नेपालले विश्वकपको पहिलो खेल इंग्ल्यान्डविरुद्ध फेब्रुअरी ८ (माघ २५) मा खेल्नेछ। त्यसपछि फेब्रुअरी १२ (माघ २९) मा इटाली, फेब्रुअरी १५ (फागुन ३) मा वेस्ट इन्डिज र अन्तिम खेल फेब्रुअरी १७ (फागुन ५) मा बंगलादेशसँग खेल्ने तालिका छ। नेपालका चारै खेल भारतको मुम्बईमा आयोजना हुनेछन्।
यो विश्वकप भारत र श्रीलंकाको सहआयोजनामा हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी ७ मा मुम्बईको वानखेडे रंगशालामा हुनेछ भने फाइनल खेल मार्च ८ मा अहमदावादको नरेन्द्र मोदी स्टेडियममा आयोजना हुने तय गरिएको छ। विश्व क्रिकेटका ठूला राष्ट्र सहभागी हुने यस प्रतियोगितामा नेपालले कस्तो प्रदर्शन गर्छ भन्नेमा क्रिकेटप्रेमीको चासो बढेको छ।










Facebook Comments