
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई थप खुकुलो बनाउने निर्णय गरेको छ। वडा, क्षेत्र वा जिल्लाबाट विभिन्न कारणले छुट भएका कांग्रेस समर्थकहरूलाई केन्द्रीय कार्यालयबाटै सिधै क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो। समितिका अनुसार अघिल्ला महाधिवेशनका क्रममा क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएका तर कांग्रेसको सिद्धान्त, नीति र आस्थामा प्रतिबद्ध रहेका व्यक्तिहरूलाई पनि पुनः क्रियाशील सदस्यता दिने व्यवस्था गरिनेछ।
समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले विदेश बसाइ, व्यक्तिगत कारण वा अन्य प्राविधिक समस्याका कारण सदस्यता नवीकरण गर्न नपाएकाहरूलाई लक्षित गरी यो निर्णय गरिएको बताए। उनका अनुसार आवश्यक योग्यता र मापदण्ड पूरा गर्ने सबैलाई क्रियाशील सदस्यता नवीकरण गरिनेछ।
यस्तै, अनुशासन समितिबाट कारबाहीको अन्तिम टुंगो नलागेकाहरूको हकमा पनि हाललाई क्रियाशील सदस्यता नवीकरण गर्न सकिने निर्णय गरिएको छ। यसले पार्टीभित्र लामो समयदेखि अल्झिएको सदस्यता विवादलाई केही हदसम्म समाधान गर्ने अपेक्षा गरिएको छ।
समितिले जेनजी आन्दोलनअगाडि जिल्लाहरूमा पठाइएका करिब २५ प्रतिशत क्रियाशील सदस्यता फारममध्ये केही जिल्लामा फारम आगजनी भएको पाइएको भन्दै ती जिल्लाका क्षेत्रीय कार्यसमितिमा पुराना फारम स्थगित गरी नयाँ फारम पठाउने निर्णय पनि गरेको छ।
विदेशस्थित जनसम्पर्क समितिहरूमा समेत क्रियाशील सदस्यता नवीकरण रोकिएको अवस्थामा सिधै केन्द्रीय कार्यालयमा आवेदन दिए अनलाइन प्रणालीमार्फत नवीकरण गर्न सकिने व्यवस्था मिलाइने भएको छ। यसका लागि छुट्टै वेबसाइट निर्माण गरी भोलिदेखि नै प्रक्रिया सुरु गरिने समितिले जनाएको छ।
कांग्रेसको यस निर्णयलाई आगामी महाधिवेशन र संगठन सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ।









Facebook Comments