
वसन्त लोहनी
मूल्य र मान्यता लिएर राजनीति गरेका एउटा मित्र
उद्विग्नताले मन भरिएपछि
मुहार पुस्तिकामा आफैँसँग प्रश्न गर्छन्–
अपमानित भएर कति बस्ने ?
जब राजनीति नै एउटा धन्दा बनिसक्यो ।
कति दुःखी हुन्छौ हे विप्र !
राजनीति अब राजनीति रहेन
हो, राजनीति पूरा धन्धा नै बनिसक्यो
बन्धन–गठबन्धन, भित्री–बाहिरी लेनदेनको कालो खेल
बदलिँदो बादलको जस्तो प्रतिपल बदलिरहेको
भरे के हुन्छ कसैलाई थाहा छैन
हिजो जसले यसलाई तपस्या ठाने
आफ्नो मोक्षको लागि होइन,
नेपाली जनताको परिमोक्षण र समुन्नतिको लागि
आफ्नो जिन्दगी नै निसर्ग गरे
तर आज राजनीति प्रजननगर्ने ब्रान्ड बनेको
जसले तपस्यागर्नेलाई बुख्याचा बनाए
मूल्य–मान्यताको बुनियादी सकेजति उत्खनन गर्दै
मुलुक हाँक्ने राजनीतिको बिम्ब निर्माण गरेका छन्
इँटा भट्टा र राजनीतिक भट्टा
राजनीतिको भट्टाबाट अपराधीलाई चोखो निकाल्न
इँटा भट्टामा जिउँदो मान्छेलाई जलाउन
राजनीति हाँक्ने खुलेआम भन्छन् अपराधी बारे–
राजनीतिक भट्टाबाट निकालेपछि उ चोखो भइहाल्छ नि !
अनि उ कसरी अपराधी हुन्छ ?
पटकौँ पटक प्रधानमन्त्री भइसकेकले भनेको यो
सर्वमान्य राजनीतिक नेता बन्न–
जिउँदा मान्छेहरूलाई खुलेआम इँटा भट्टामा जलाइन्छ
मुलुकको तागत झिकेर खोक्रो मात्र बनाएनन् यसरी
भित्रको खाली ठाउँमा अपराधले भरिदिए
पराईको तैनाथी खटनपटनले भरिदिए
बाहिर– सुन्दर, चिल्लो, टलक्क टल्किएको
धेरै ठूलो गिरावट आयो
जसले जान्यो त्यसले खायो
टल्काएको जुत्ताको टहकमा
आफ्नो अनुहार हेर्न सक्नेले
धमिरा लागे सरह सबकुछ खाए
हर दिन घटिया बनाइएको यो धन्दामा
रहनु नरहनु नै गौण भइसक्यो
प्लेटोले भनेजस्तै –
सत्य बोल्ने जति तिरस्कृत अरू को छ यहाँ अहिले ?
लम्पट बुद्धिजीवीहरू प्रतिस्पर्धा गरिरहेका
जुत्ताको उज्यालोमा आफ्नो अनुहार हेर्न
पार्टीको विधान, मुलुकको संविधान बदलिन्छ
फगत एक व्यक्तिको लागि
मुलुकको कानुन बदलिन्छ केवल भ्रष्टाचार गर्नको लागि
आफ्नो मान्यताको लागि हेम्लक खाने सुकरात युग होइन यो
राजनीतिको नाम लिएर नोट खाने युग हो
राजनीतिको नाममा विदेशी मालिक रिझाउनुपर्ने दिन ल्याए
सत्तामा पुग्न र टिक्न पराइको आशीर्वाद चाहिने दिन बनाए
प्रजातन्त्रको, लोकतन्त्रको, स्वाधीनताको र समुन्नतिको
गफै गफ भित्र पनि अनेकौँ गफै गफहरू भरेर
विकसित घटनाक्रम–
करिब तुहिएको÷तुहाइएको जेन्जी आन्दोलन
पुरानै त्रिभुजीय सोताल लिपपोत गरी
गंगाजल छरेर शुद्ध शान्तिपश्चात्
अजङ भएर उठ्न खोजेका
अर्को चमत्कारी नाटकको पटाक्षेप गर्न
चटकी सुरुवातबाट वैधानिकता पुनर्जीवित गरी
भ्रष्टाचार र भ्रष्टाचारीलाई वैधानिकता दिने
भ्रष्टाचारको सङ्क्रमण पहिचानबाट
फोक्सो खुम्चिएकाहरू
अक्सिजनको नयाँ झोक्का फेला पारेर
गगनभेदी सिंह–गर्जन गर्न थालिसके ।









Facebook Comments