गोकर्णराज विष्ट

उपाध्यक्ष नेकपा एमाले 

ad

नेकपा एमालेको एघारौँ महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा भयो । व्यक्तिगत रूपमा तपाईं निर्वाचित हुनुभयो । प्यानलै बनाएर चुनाव लड्ने संस्कृतिले एमालेभित्र भावनात्मक एकतामा असर पार्छ कि पार्दैन ?

प्यानल नबनाको भए धेरै राम्रो हुन्थ्यो । अब प्यानलगत हुँदा अब माथिदेखि तलसम्म मनोवैज्ञानिक हिसाबले भिन्नता हुने परिस्थिति पनि निर्माण हुन्छ कहिलेकाहीँ तर अब हामीले नवौँ महाधिवेशन आठौँ महाधिवेशनमा प्यानलगत अभ्यास पनि गरेका उदाहरण छन् । अहिले पनि लगभग त्यही खालको अवस्था देखापर्‍यो । यसका बाबजुद पनि हामीले यसलाई लोकतान्त्रिक अभ्यास ठानेर नै परिणाम आइसकेको छ । त्यसलाई स्वाभाविक ठानेर अगाडि बढ्नुपर्छ । नयाँ ढंगले पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ ।

अब तपाईंहरूले पुस्तान्तरण नेतृत्व हस्तान्तरणको जुन कुरा उठाउनुभएको थियो नि यो नतिजाले कार्यकर्तामा केही सन्देश दियो अथवा उही तपाईंहरूले उठाउनुभयो यो सकियो ढिसमिस ?

हामीले नेतृत्व रुपान्तरण र हस्तान्तरणको कुरो गरेका छौँ । महाधिवेशनले फैसला गरिसकेपछि त्यसलाई सबैले स्विकार्नुपर्छ । त्यसलाई स्वभाविक मान्नुपर्छ । र पार्टीलाई फेरि पनि संगठनात्मक हिसाबले भावनात्मक हिसाबले एकताबद्ध गर्नुपर्छ । जित्नेले हार्नेलाई समेट्ने, हार्नेले जित्नेलाई सहयोग गर्ने । पार्टीको लोकतान्त्रिक अभ्यासलाई सफल बनाउने हिसाबले नै जानुपर्छ ।

तपाईं त एकजना वैचारिक शालीन नेता अबको कार्यकालमा उपाध्यक्ष हुनुभएको छ । यो पार्टीको नीतिनिर्माण आन्तरिक व्यवस्थापनमा तपाईंका प्राथमिकता के हुन् ? 

खासगरी संविधानमा संकट पैदा भएको छ । भाद्र २३–२४ पछाडि देशमा राजनीतिक परिस्थिति सामाजिक मनोविज्ञान जनताका अपेक्षा युवाहरूका चाहनाहरूमा केही नयाँ अवस्थाहरू देखापरेका छन् । यस्तो अवस्थामा नयाँ पुस्ताका आकांक्षाहरू जनताका अपेक्षाहरूलाई पनि हामीले सम्बोधन गर्ने गरी अलि नयाँ ढंगले जानु पर्नेछ । संविधानलाई लिकमा ल्याउनको लागि लोकतान्त्रिक अभ्यासलाई हामीले सफल बनाउनुपर्ने छ । यद्यपि प्रतिनिधिसभा पुनःस्थापना भनेर अब मुद्दा पनि अदालतमा  विचाराधीन छ । पार्टीले पनि त्यसमा जोड दिएको छ । प्रतिनिधिसभा विघटन त्यो संवैधानिक होइन, यो सबैलाई जानकारी छ नै । त्यस उपरको निर्णय निरुपण सर्वोच्च अदालतले गर्ला नै । तर त्योबाहेक जुन ढंगले निर्वाचनको प्रसंग चलिरहेको छ निर्वाचनको वातावरण अहिले बन्या छैन । वातावरण बनाउने काम त सरकारको हो, पार्टीहरूलाई विश्वासमा लिने हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद गरिएको छ । त्यसले निर्वाचनको माहोल पैदा गर्दैन ।  निर्वाचन गर्ने हो भने निर्वाचनको माहोल पैदा गर्ने त्यो वातावरण स्वस्थ निष्पक्ष भयरहित निर्वाचनको वातावरण तयार गरेर निर्वाचनमा जाने स्थिति बन्नुपर्छ । यसलाई नेकपा एमाले एउटा जिम्मेवार पार्टी एउटा जनताको जनादेशमा विश्वास गर्ने पार्टीले साँच्चिकै निर्वाचन गराउने गरी सरकार गयो भने हामी निर्वाचनबाट भाग्दैनौँ । 

अहिले यसकारण हजुर तपाईंहरूको यो एघारौ महाधिवेशनले जेन्जीलाई त पूरै वेवास्ता गर्‍यो भन्ने टिप्पणी सुनिन्छ त ?

४० वर्ष तलका साथीहरूको एउटा उल्लेखनीय संख्या नै नेतृत्वमा आएको छ । युवाहरूको प्रतिनिधित्व त राम्रो छ । यसकारण बेवास्ता होइन उहाँहरूले जे अपेक्षा राख्नुभएको थियो त्यो अपेक्षा पूरा भएन होला । त्यो बेग्लै कुरा छ । तर युवाहरूको उल्लेखनीय संख्यामा केन्द्रीय कमिटीमा प्रतिनिधित्व छ । 

महाधिवेशनमा नीतिका कुरा हुनुपथ्र्यो तर नेतृत्व चयनमा मात्रै केन्द्रित भयो त्यसले गर्दा भदौ २३ पछाडि केही पनि भएकै थिएन भन्ने खालको भाष्य एमालेले निर्माण गरेको आरोप छ नि ?

हामीले समूहको तर्फबाट भाद्र २३–२४ पछाडिको परिवर्तित सन्दर्भलाई प्रतिबिम्बित गर्ने गरी हाम्रो कमरेड ईश्वर पोखरेलको नेतृत्वमा एउटा दस्तावेज पनि अगाडि आएको थियो । हामीले त्यो दस्तावेजमा हाम्रा मान्यताहरूलाई अगाडि सारेका थियौं । महाधिवेशनमा विचारहरू प्रवेश गराएका थियौं । यद्दपि त्यसमा प्रभावकारी ढंगले छलफल हुन सकेन । तर महाधिवेशनमा ति विचारहरू प्रवेश भएका छन् । 

एमालेमा नि अहिलेको जुन प्रतिस्पर्धा भयो चुनावमा संस्थापन इतरको मान्छे तपाईंले जित्नुभयो । अब अन्य राजनीतिक दलमा जस्तो अभ्यास हुन्छ कि अधिवेशन सकियो गुट पनि सकियो ?

हामीले संगठनात्मक विधि भित्र रहेर नै हामी चल्छौं । हामीले चलाउनुपर्छ । पार्टीका आधिकारिक कमिटीहरूभित्र आफ्ना विचारहरू राख्ने, छलफल, बहस गर्ने त्यहाँ कहिलेकाहिँ अल्पमत बहुमत पनि हुन सक्छ । त्यो ढंगले निष्कर्षमा पुग्ने र निष्कर्षलाई हामीले कार्यान्वयन गर्ने त्यसरी नै जानुपर्छ । पार्टी सञ्चालनमा जुन प्रकारको विधि छ त्यो विधिलाई चाहे बहुमत पक्षले होस् चाहे अल्पमत पक्षले होस् त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ ।

एमाले भन्या जनताको बहुदलीय जनवाद (जबज)लाई पथप्रदर्शक सिद्धान्त मान्दै आएको पार्टी अहिलेको यो बदलिएको परिवेशमा जबजको सान्दर्भिकता र विकासका बारेमा तपाईंको धारणा के हो ? 

मुख्य चिज भनेको बहुदलीय जनवादले प्रतिस्पर्धालाई आत्मसात् गरेको छ । प्रतिस्पर्धा र पहल कदमीका आधारमा नेतृत्व निर्माणको सन्दर्भलाई जोड दिएको छ । चाहे पार्टीको आन्तरिक जीवनमा होस् चाहे समाजको लोकतान्त्रिकरणको सन्दर्भमा होस् । चाहे भित्री प्रतिस्पर्धा चाहे बाहिरी प्रतिस्पर्धा एउटा सन्दर्भ हो । दोस्रो चिज भनेको हामीले प्रतिस्पर्धा भनिरहेको बेला समय समयमा जे नयाँ प्रकारका परिदृश्यहरू देखा पर्छन् परिस्थितिमा आउने भिन्नतामा आधारित भएर हामीले हाम्रा सोच मान्यता र नीतिहरूलाई पनि समृद्ध परिमार्जन गर्दै जानु पर्छ भन्ने चिज नै हो । जनतामा जनादेशको लागि जाने पार्टीले जनताका अपेक्षाहरूलाई सम्बोधन गर्ने गरी परिस्थिति अनुसार हाम्रा मान्यताहरू नीतिहरूलाई समृद्ध बनाउनुपर्छ भन्ने कुरै हो । यो चिजमा हामीले गम्भीरता साथ ध्यान दिनुपर्दछ ।

युवा पुस्तालाई आकर्षित गर्नका लागि एमालेले के के गर्नु पर्छ ?

मुख्यतः शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा प्रवाहका क्षेत्रहरूमा हामीले गर्नुपर्ने सुधारका एजेण्डाहरू मुख्य एजेन्डाहरू हुन्छन् । हामीले गरिबीबाट जनतालाई माथि उठाउनुपर्नेछ । जुन प्रकारको आर्थिक र सामाजिक विभेद छ यसलाई हामीले घटाउँदै लानुपर्नेछ । सक्दा अन्त्य गर्ने, नसक्दा घटाउँदै लाने गर्नु पर्ने छ । र कसरी देशलाई एउटा आत्मनिर्भर अर्थतन्त्र त सम्भव नहोला अहिले । तर तुलनात्मक हिसाबले बलियो अर्थतन्त्र निर्माण गर्ने भन्ने सन्दर्भमा हामीले ध्यान दिनुपर्नेछ । हाम्रो राष्ट्रिय स्वाधिनता स्वाभिमान आत्मसम्मान सार्वभौमिकतालाई हामीले सबल बनाएर जानुपर्नेछ । यस्ता एजेन्डाहरू मुख्य एजेन्डा हुन्छन् फेरि पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर नै हामीले हाम्रा मुद्दाहरू एजेन्डाहरू तय गर्ने कुरा हो  ।

अहिलेको आर्थिक अवस्था संकटग्रस्त भनेर टिप्पणी गर्छन् । पूर्व उर्जा मन्त्री, श्रम मन्त्रीको पनि अनुभव तपाईंसँग छ । देशको अर्थतन्त्र सुधार्न एमालेले सरकारलाई दिने सुझाव हुन्छ अहिलेको अवस्थामा ?

देशको अर्थतन्त्र सुधार्नको लागि मुख्य हामीले ध्यान दिनु पर्ने भनेको हाम्रा कतिपय प्रशासनिक अनावश्यक फजुल खर्च पनि छन् । ती खर्चहरूलाई हामीले कटौती गर्नुपर्छ एक । दोस्रो चिज भनेको देशभित्रका आर्थिक सम्भावनाहरूलाई हामीले अलि पारदर्शीढंगले फलदायी ढंगले परिचालन गर्नुपर्छ । निजी क्षेत्रको मनोबल उठ्न सकिरहेको छैन । निजी क्षेत्रको मनोबल उठाउने गरी लगानीको वातावरण निजी क्षेत्रले काम गर्ने वातावरण एउटा स्वस्थ वातावरण सरकारले तयार गर्नुपर्छ ।  त्यसपछि देशभित्र जे सम्भावनाहरू छन् चाहे जलस्रोत होला वा अरू कुनै सम्भावना होला । देशभित्रको सम्भावना भएका क्षेत्रहरूमा हामीले अलि केन्द्रित रहनु पर्दछ । मानवीय संशाधनको विकास परिचालन मार्फत त्यसलाई आर्थिक हिसाबले सबल बनाउने गरी हामी अगाडि बढ्नुपर्छ । हामीले देश विकासको लागि अर्थतन्त्रको विकासको लागि सबै कुरामा हामीले जोड दिएका छौँ तर सबै कुरामा समान ढंगले परिणाम त आउँदैन समान ढंगको योगदान त हुँदैन सबै सेक्टरको । जुन सेक्टरमा हामीले अलि बेसी फोकस गर्नुपर्छ त्यहाँनिर हामीले अलि फरक ढंगले फोकस गरेर अर्थतन्त्र स्वतन्त्रलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्छ । 

पुराना दलहरू प्रति नागरिकमा अहिले अलि अलि वितृष्णा बढेको भनिन्छ नयाँ शक्ति भनिएका दलहरू उदाई राखेका छन् । अब यस्तो अवस्थामा एमालेलाई आमनागरिकको पहिलो रोजाइको पार्टी कसरी बनाउने ?

पुराना दलहरूको प्रतिको असन्तुष्टि भनेको कतिपय अभिव्यक्ति कार्यशैली स्वभावजन्य र सत्तामा एकै प्रकारका पात्रहरू रहे भन्ने प्रकारको असन्तुष्टि हो । यसमा हामीले यदि सुधार गर्न सक्यौँ भने जनताको गुनासोमा सम्बोधन हुन्छ । 

तर तपाईंहरूकै अध्यक्ष फेरि अलि आक्रामक हुनुहुन्छ ? 

हामीले फेरि पनि लोकतन्त्रको मूल्य मान्यता र मयादालाई समृद्ध पार्ने हिसाबले नै अगाडि बढ्नुपर्छ ।

सरकारको सय दिनको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

सरकारको सय दिन त सरकारले खासै के काम गर्‍यो र ? अब सय दिन व्यतीत भयो तर सरकारले के नै काम गरिराछ र ?  निरन्तरता मात्र छ । यद्यपि यो सरकार चुनाव भन्ने सरकार हो । छ महिनाभित्र चुनाव गराउने भनिएको सरकार हो तर त्यसले चुनाव गराउनको लागि दलहरूसँग वातावरण तयार गर्ने, संवादमा रहने, एकदम बाक्लो संवाद गर्ने त्यो प्रकारको स्थिति नै छैन । मुख्य एजेन्डामै सरकार चुकेको छ ।