काठमाडौं । सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भागको बिगो स्वीकार गर्दै सहकारी ठगीको आरोपलाई आफैँले पुष्टि गरेका छन् । जिल्ला अदालत, रुपन्देहीले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम लिएर थुनामुक्त गर्न आदेश दिएपछि बाहिर निस्किएका रविले मुद्दा जितेझैँ रास्वपाका नेता तथा कार्यकर्ताहरूले विजय उत्सव मनाएर जगहँसाइ गरेका छन् । 

वैकल्पिक राजनीति, सुशासन र नयाँ संस्कृतिको नारा बोकेर उदाएको रास्वपाका नेताहरूको गतिविधि र कार्यशैली हास्यास्पद र उदेकलाग्दो भएको टिप्पणी भइरहँदा रवि छुटेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले उत्सव गरेर त्यो टिप्पणीलाई पुष्टि गरेका छन् । रवि निर्दोष सावित भएर थुनामुक्त भएका होइनन्, ठूलो रकम धरौटी बुझाएर रिहा भएका हुन्, उनीमाथि मुद्दाको प्रक्रिया अझै बाँकी रहेको एक कानुन व्यवसायीले बताए । शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर रवि छुटेका हुन् । 

ad

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेलाई ४ सर्तमा छाड्न आदेश दिएको थियो । 

रविले अदालतबाट छुट्टि पाउन आफ्नो भागमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउने भनेर दिएको निवेदनमा उक्त रकमलाई उच्च अदालतले स्वीकार गरी रविलाई छाड्ने आदेश गरेको हो ।

यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई पुर्पक्षका लागि एक करोड रुपैयाँमा छाड्न आदेश गरेको थियो । उक्त एक करोड रुपैयाँ धरौटी पनि बुझाउन आदेश उच्च अदालतले गरेको हो । 

रविले पहिले दुई करोड ७४ लाख बराबरको बैंक ग्यारेन्टी र अर्को एक करोड रुपैयाँको धरौटी बुझाएर थुनामुक्त भएका हुन् । अदालतको आदेशमा रविले बिगोको रकम जमानत बुझाउँदा सहकारी बचतकर्ताले फिर्ता पाउने सुनिश्चितता देखिएको उल्लेख छ ।

अदालतले राखेको पहिलो सर्तमा, ‘सुरु जिल्ला अदालतले १३ माघ २०८१ मा सुरु थुनछेकको क्रममा मागेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्ने ।’ आदेशमा उल्लेख गरिएको दफामा ‘अभियोग प्रमाणित हुने मनासिब आधार भएमा अदालतले निजसँग धरौट, जमानत, बैंक जमानत लिई तारिखमा राख्न सक्नेछ ।’

अदालतको दोस्रो सर्तमा, ‘निवेदन साथ पेस गरेको बैंक जमानत दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको हकमा सुरक्षित गर्ने’ उल्लेख छ ।

तेस्रो सर्तमा ‘व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने ।’

र चौथो सर्तमा ‘पछि अदालतबाट फैसला हुँदा बढी बिगो ठहरेमा तिर्न मन्जुर हुनेगरीको कागज गरेर थुनामुक्त गर्न’ आदेशमा भनिएको छ । 

रवि र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा एउटै भए पनि छविलाई अदालतले छोडेको छैन । छविलाई १३ माघ २०८१ मा रूपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेको थियो । छविका हकमा बैंक ग्यारेन्टीसहितको निवेदन फेरि दिनुपर्ने देखिएको छ ।

कारागारबाट बाहिरिएका लामिछानेले देश निर्माणका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन् । राजनीति व्यक्तिगत लाभका लागि नभई दीर्घकालीन परिवर्तनका लागि भएको उल्लेख गर्दै उनले पार्टी, पद र पहिचानभन्दा देश ठूलो भएको धारणा व्यक्त गरे ।

लामिछानेले शनिबार चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै मिल्नुपर्ने शक्तिहरू अन्तिम समयमा एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे । भैरहवाबाट सिधै चितवन पुगेका उनले देशको भविष्यका लागि संवाद र सहकार्य अपरिहार्य रहेको बताए ।

सभामा बोल्दै लामिछानेले आफूले कारागारमा रहँदा पनि यही सन्देश दिएको स्मरण गराए । ‘म कारागारमा हुँदा पनि भनेको थिएँ, देश बन्ने हो भने म जे त्याग गर्न पनि तयार छु,’ उनले भने, ‘पार्टीले जे निर्णय गर्छ, त्यो मलाई स्वीकार्य छ । कसैलाई चुनाव चिह्न चाहियो भने लैजानुस्, झन्डा चाहियो भने लैजानुस्, पार्टी कार्यालय चाहियो भने लैजानुस् । आवश्यक परे सिंगो पार्टी र पद पनि त्याग्न तयार छु । व्यक्तिभन्दा देश ठूलो हो ।’

उनले पार्टीभित्र र बाहिर रहेका आफ्ना सहयात्रीहरूबीच निरन्तर संवाद भइरहेको जानकारी दिँदै मिल्नुपर्ने शक्तिहरू अन्तिममा मिलेरै छाड्ने दाबी गरे । ‘एकता भनेको औपचारिक सम्झौतामात्र होइन,’ उनले भने, ‘यो टाउको ठोकेर मित लगाएजस्तो कुरा होइन, यो दीर्घकालीन समझदारी र उद्देश्यमा आधारित हुनुपर्छ ।’

लामिछानेले आफू एउटा मात्र चुनाव जित्नका लागि राजनीतिमा नआएको स्पष्ट पारे । ‘म एउटा चुनावका लागि राजनीतिमा आएको होइन,’ उनले भने, ‘म एउटा पुस्ताको भविष्य बदल्न राजनीतिमा आएको हुँ ।’ उनले वर्तमान पुस्ता, विशेषगरी जेनजी का सपना र अपेक्षालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले सरकारले कुनै पनि हालतमा निर्वाचनको बाटो खुला गर्नुपर्ने धारणा पनि राखे । ‘देश निर्वाचनमा जानुपर्छ,’ उनले भने, ‘जनआन्दोलनको बलबाट बनेको सरकारले जेनजीका सपना पूरा गर्ने साहस देखाउनुपर्छ ।’ रास्वपाले जेनजीका माग, सुशासन र निष्पक्ष निर्वाचन सुनिश्चित गराउने विषयमा सरकारलाई दबाब दिने र आवश्यक परे साथ दिने उनको भनाइ थियो ।

सरकार डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले जनताको समर्थन सरकारसँगै रहेको बताए । ‘जनताको मुद्दामा, विशेषगरी सुशासनका सवालमा ढोका–झ्यालबाट चिहाउनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘सिधै अघि बढे हुन्छ, रास्वपा पनि सरकारको साथमा उभिन्छ ।’

लामिछानेले देशका संरचनामा क्षति पुगेको भए पनि त्यसभन्दा ठूलो क्षति जनताको सपनामा पुगेको उल्लेख गरे । ‘सिंहदरबार, न्यायालय फेरि बनाउन सकिन्छ,’ उनले भने, ‘तर वर्षौंदेखि खरानी बनेका सपनाहरू ब्युँताउन हामी आफैँ अघि बढ्नुपर्छ ।’ आफू सधैँ जेनजीको साथमा रहेको भन्दै उनले युवालाई चिन्ता नगर्न आग्रहसमेत गरे ।