
काठमाडौं । अप्रत्याशित रूपमा जेनजी आन्दोलनबाट सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओली केही समय आफ्ना भित्रिया महेश बस्नेतको संरक्षणमा भक्तपुरको गुन्डुमा शरण लिई प्रायश्चित्त गरेजस्तो देखिए पनि आफैँले एकलौटी रूपमा गरेको ११औँ महाधिवेशनबाट अत्याधिक मतले तेस्रोपटक पार्टीको अध्यक्षमा निर्वाचित भएपछि उनमा अझै अहंकार र दम्भ बढेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । जेनजी आन्दोलनका मुख्य अभियुक्तको रूपमा चित्रित पूर्वप्रधानमन्त्री ओलीलाई अन्तरिम सरकारद्वारा बनाइएको गौरीबहादुर कार्की आयोगले बयान दिन पुर्जी काट्ने र उपस्थित नभएमा सुरक्षाकर्मी लगाएर भए पनि उपस्थित गराउने बुझेका ओलीले ‘आफूलाई सरकारले हातापाई गरेमा मुलुक नै ठप्प पार्ने र सरकारलाई ढालिदिने’ हतास चुनौती दिएपछि दम्भ र अहंकार बढेको पुष्टि भएको छ ।
जेनजी विद्रोहले बालुवाटारबाट सडकमा झरेको तीन महिनापछि, ओलीले एमालेको ११औँ महाधिवेशनबाट ‘ह्याट्रिक’ गर्दै आफूलाई झन् कडा रूपमा स्थापित गरेका छन् । आफूअनुकूल ७० वर्षे उमेरहद हटाएर ७४ वर्षीय ओलीले एमालेको ११औँ महाधिवेशनबाट झण्डै ७५ प्रतिशत मतका साथ तेस्रोपटक अध्यक्ष भएका छन् । यो केवल एउटा पार्टीको चुनाव मात्र थिएन, यो त राज्यका संयन्त्र र आफूमाथि लागेका गम्भीर आरोपहरूलाई ओलीले दिएको एक ‘क्रुर’ जवाफ रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
ओलीले १६६३ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई निकै फराकिलो अन्तरले पराजित गरे । तर, यो जितको चमकभित्र एउटा गहिरो अँध्यारो लुकेको छ । ७७ जना युवाको ज्यान जाने गरी भएको दमनको समयमा प्रधानमन्त्री रहेका व्यक्तिलाई नै पार्टी कार्यकर्ताले फेरि निर्विकल्प नेता मान्नुले एमालेभित्रको ‘भक्तिमार्ग’ कति बलियो छ भन्ने देखाउँछ । जेनजी पुस्ताले ‘पूराना दल र पूराना नेता’ को विकल्प खोजिरहँदा, एमालेले भने ‘ओली नै अन्तिम सत्य’ भएको सन्देश दिएको छ ।
गत भदौको जेनजी आन्दोलनबाट सत्ताच्यूत भएपछि तत्कालीन प्रधानमन्त्री ओलीमाथि पार्टी नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको लागि दबाब बढेपछि नियमित महाधिवेशन एक वर्ष अगाडि नै गराएर पुनः पार्टी नेतृत्वमा बलियो पकड जमाउन सफल ओलीले चुनाव जितेपछि ‘कसैले छोएर त हेर’ भन्ने खालको अभिव्यक्तिले उनको अहंकार र दम्भ अझै बढ्ने संकेत गरेको राजनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् । केन्द्रीय कमिटीमा ओलीको पक्षको एकछत्र उपस्थितिले आगामी दिनमा ओलीका लागि आफ्नो पक्षमा निर्णय गर्न सहज मार्ग तयार भएकाले झनै आक्रमक बनेका ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश नै ठप्प पार्ने चेतावनी दिँदै वर्तमान अन्तरिम सरकारसँग भिड्ने उदघोष समेत गरेका छन् । उनले गत बिहीबार शपथग्रहणलगत्तै एमाले नेतृत्वमाथि आक्रमण गर्ने पञ्चायतकालीन कुकर्मको थालनी भएको टिप्पणी गर्दै एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्ने र सरकार ढल्नुपर्ने अभिव्यक्ति दिँदै त्यसका लागि देशभर तयारी थाल्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
वर्तमान सरकारले गठन गरेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउने गृहकार्य गरिरहेको अवस्थामा आयोगलाई अस्वीकार गर्दै ओलीले भने कुनै पनि हालतमा बयान नदिने अडान लिएका छन् । आयोगले ओलीलाई धरपकड गरे एमाले नेता–कार्यकर्ताहरू प्रतिकार उत्रिए भने परिस्थिति असामान्य बन्ने अवस्था सिर्जना हुनसक्ने आंकलन पनि गरिएको छ ।
प्रदीप ज्ञवाली, गुरु बराल, विष्णु रिमाल, आनन्द पोखरेल, राजेन्द्र गौतम, अग्नि खरेलजस्ता ओलीको विश्वासिला हस्ती ११औँ महाधिवेशनबाट पछि परे पनि केन्द्रीय कमिटीमा ओली पक्षको दबदबा छ । पार्टीमा आफ्नो समूह झनै शक्तिशाली बनेपछि उत्साहित ओलीले नेता तथा कार्यकर्ताहरूसँग असहिष्णु व्यवहार गर्दै आएका छन् । उनले बिहीबार शपथग्रहण कार्यक्रममा एकजना नेताको मोबाइलको घण्टी बजेकोमा आक्रोश पोखेका थिए ।
झन्डै दुईतिहाइ मत ल्याएर अध्यक्ष जितेका ओलीले १ हजार ६ सय ६३ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । विगतमा आफूप्रति विमति राख्नेहरूलाई पाखा लगाउँदै आएका ओलीले पार्टीमा झनै शक्तिशाली बनेपछि फेरि उही शैली अपनाउने संकेत देखाएका छन् । ११औँ महाधिवेशनमा अध्यक्षमा सर्वसम्मत हुने चाहनालाई पूरा हुन नदिने ईश्वर पोखरेल लगायतका उनको पक्षका खुलेका नेताहरूलाई ओलीको पछिल्लो व्यवहारले डन्डा बर्साउने सम्भावना बढेको एमालेनिकट समाचारस्रोतले देशान्तरलाई बताएको छ । महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा आफूसँग पराजित ईश्वर पोखरेल लगायत उनको प्यानलमा उठेका नेताहरूलाई ओलीलगायत निर्वाचन आयोग र अध्यक्ष मण्डलले निम्ता नगरेकाले ओली उनीहरूप्रति असहिष्णु हुनसक्ने संकेत गरेको हो । पोखरेल र महासचिवमा पराजित सुरेन्द्र पाण्डेलगायत नेताहरू नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन इच्छुक हुँदाहुँदै पनि कसैले नबोलाएपछि भृकुटीमण्डपमा भएको शपथग्रहण कार्यक्रममा सहभागी नभएको पदाधिकारीमा पराजित एक नेताले देशान्तरलाई जानकारी दिए । विगतमा ओलीसँग प्रतिस्पर्धा गर्ने र उनको विचारप्रति असहमति राख्ने माधव नेपाल, झलनाथ खनाल, भीम रावल लगायतका नेताहरू ओलीको पेलाईबाट आजित भएर एमालेबाट बाहिरिनु परेको थियो । यस्तै नियति ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेलगायत नेताहरूले पनि भोग्नुपर्ने सम्भावनालाई भने नकार्न नमिल्ने एमालेका एक नेताले जानकारी दिए ।
यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रोपटक अध्यक्ष निर्वाचित भएका थिए । २०६५ मा बुटवलमा आयोजित आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए । पोखरेल प्यानलबाट पदाधिकारीमा दुईजना मात्र निर्वाचित भएका छन् । पोखरेल प्यानलबाट उपाध्यक्षमा उठेका गोकर्णराज विष्ट र उपमहासचिवमा उठेका योगेश भट्टराई विजयी भएका छन् । १९ जना पदाधिकारीमध्ये १७ जना ओली पक्षका छन् ।
यस्तै महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन् । उनी १२२८ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याएका थिए ।
यसैगरी एमालेको उपमहासचिवमा पोखरेल पक्षका योगेश भट्टराई निर्वाचित भएका छन् । ओलीका विश्वासपात्र मानिएका विष्णु रिमाल पराजित भए । ओली प्रधानमन्त्री रहेको बेला सधैँ रिमाल प्रमुख राजनीतिक सल्लाहकार हुने गर्दथे । ३ जना उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका हुन् । भट्टले १४५२, महासेठले १३६८ र भट्टराईले १३४८ मत प्राप्त गरेका थिए भने चौंथो नम्बरमा परेका रिमालले १०९१ मत पाए ।
एमाले सचिवमा सबै ओली प्यानलका उम्मेदवार विजयी भएका छन् । ओली प्यानलबाट सचिवको उम्मेदवार बनेका बस्नेत सबैभन्दा बढी १५४४ मत सहित विजयी भएका छन् । त्यसैगरि शेरधन राई, पद्मा अर्याल, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल विजयी भएका छन् ।









Facebook Comments