
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट सर्वसम्मत रूपमा विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै ९२ सांसदले यादवको पक्षमा मत दिएपछि उनको सरकारलाई पूर्ण समर्थन जुटेको हो।
बैठकमा सत्तारूढ दलका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए। प्रदेशसभा उपसभामुख बबिता राउत इशरले यादवले विश्वासको मत प्राप्त गरेको औपचारिक घोषणा गरिन्।
नेपाली कांग्रेसको नेतृत्वमा बनेको सातदलीय गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई समर्थन गरेका हुन्। यसबाहेक, सत्ता बाहिर रहेका राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीका एक–एक सांसदले पनि यादवको पक्षमा मत दिएका थिए।
कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा गत १९ मंसिरमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएपछि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गरेका थिए।
पछि २९ मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनले नेकपा माओवादी केन्द्र र लोसपालाई समेत सरकारमा सहभागी गराएका थिए। हाल मुख्यमन्त्रीसहित छ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको भए पनि सबै मन्त्रालयको जिम्मेवारी अझै पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छैन।
प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत पाएपछि यादव सरकारलाई आगामी दिनमा नीतिगत निर्णय र प्रशासनिक काम अघि बढाउन थप सहजता हुने अपेक्षा गरिएको छ।









Facebook Comments