
काठमाडौं । पाकिस्तानले छिमेकी भारतले कुनै पूर्वसूचना नदिई बाँधबाट पानी छोडेर ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरिरहेको गम्भीर आरोप लगाएको छ। इस्लामाबादले यसलाई दुवै देशबीचको सिन्धु जल सन्धिको उल्लङ्घन भन्दै क्षेत्रीय शान्ति र स्थिरताका लागि खतरा भएको जनाएको छ।
उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शुक्रबार भारतको यस्तो कदम गैरकानुनी र गैरजिम्मेवारपूर्ण रहेको बताएका छन्। विश्व बैंकको मध्यस्थतामा सन् १९६० मा भएको सिन्धु जल सन्धिको मर्मविपरीत भारतले एकतर्फी रूपमा पानीको बहावमा हस्तक्षेप गरेको उनको भनाइ छ।
पाकिस्तानको विदेश मन्त्रालयले चेनाब नदीबाट अनियमित रूपमा पानी छोडिएको विषयमा स्पष्टीकरण माग्दै नयाँदिल्लीलाई पत्र पठाएको एक दिनपछि दारको प्रतिक्रिया आएको हो। उनका अनुसार भारतले पाकिस्तानको कृषि चक्रका लागि अत्यन्त संवेदनशील समयमा पानीको प्रवाह नियन्त्रण र हेरफेर गरिरहेको छ, जसले किसानको जीविकोपार्जन मात्र नभई देशको खाद्य र आर्थिक सुरक्षालाई समेत जोखिममा पारेको छ।
दारले चेनाब नदीमा हालै भएको पानीको अचानक बहाव यही साता पहिचान गरिएको जानकारी दिँदै यस्तो कार्यले पाकिस्तानमा मानवीय संकटसमेत उत्पन्न हुन सक्ने चेतावनी दिए।
भारत–पाकिस्तान सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण रहँदै आएको छ। सन् १९४७ मा ब्रिटिस शासनबाट छुट्टिएयता दुवै देशबीच दुई पटक युद्ध भइसकेको छ। कश्मीर क्षेत्रलाई लिएर दुवै देशबीच लामो समयदेखि विवाद कायम छ।
यस विषयमा भारत सरकारको तर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। यद्यपि यसअघि सेप्टेम्बरमा पनि भारतबाट पानी छोडिएको भन्दै पाकिस्तानले बाढीको जोखिम बढेको दाबी गरेको थियो। त्यतिबेला भारतले मनसुनका कारण सम्भावित बाढीबारे पूर्वसूचना दिएको जनाएको थियो।
विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिलाई भारत–पाकिस्तानबीचको महत्वपूर्ण समझदारी मानिन्छ। सन्धिअनुसार भारतको नियन्त्रणमा रावी, सतलज र ब्यास नदी छन् भने झेलम, चेनाब र सिन्धु नदी पाकिस्तानको हिस्सामा पर्छन्। यी नदी प्रणाली दुवै देशका लागि जीवनरेखा मानिन्छन्।
तर भारतको नियन्त्रणमा रहेको कश्मीरमा २६ जना पर्यटक मारिएको घटनापछि भारतले अप्रिल महिनामा एकतर्फी रूपमा सिन्धु जल सन्धि स्थगित गर्दै पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध कमजोर पारेको थियो। त्यसपछि हप्तौँसम्म तनाव चर्किएको र मे महिनामा दुवै देशबीच प्रतिशोधात्मक मिसाइल आक्रमणको अवस्था सिर्जना भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम घोषणा भएपछि तत्कालीन तनाव केही कम भए पनि दुवै देशबीच सम्बन्ध सुधारका लागि ठोस पहल भएको छैन। कूटनीतिज्ञहरूसँगको छलफलमा दारले भने, 'पानी जीवन हो, यसलाई कहिल्यै हतियार बनाइनु हुँदैन।'
उनले यस विषयमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र महासभाका अध्यक्षलाई समेत जानकारी गराइसकेको र अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरिएको बताए।
दारका अनुसार पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले यस वर्षको सुरुमै पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य’ मानिने स्पष्ट चेतावनी दिएको थियो। भारतले सन्धिअनुसार आवश्यक पर्ने अग्रिम सूचना, जलसम्बन्धी तथ्याङ्क र संयुक्त निरीक्षण संयन्त्रको साझेदारी रोकेको आरोप पनि उनले दोहोर्याए।









Facebook Comments