काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री दाबी गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले आफूले सहमहामन्त्रीको सशक्त दाबेदार रहेको बताए ।

पार्टीका शीर्ष नेताहरुले महाधिवेशनमा दोस्रो तहका नेताहरुमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिए । आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उमेदवारी दिने दाबी समेत उनले गरे ।

ad

‘अहिलेसम्म डा. शेखर कोइाराला पक्षको मान्छे हो । सहमहामन्त्रीमा मेरो उमेदवारीको निम्ति आग्रह गर्छु । उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ महामन्त्रीमा मेरो उमेदवारी जान्छ या उपसभापतिमा जान्छ,’ उनले भने, ‘योपटक सभापतिमा जाँदिन । यदि त्यसमा पनि समस्या आएछ भने सभापतिको लागि स्वच्छ छवि भएको नयाँ उमेदवार घोषणा गरेर विद्रोहमा जान्छौँ ।’

उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरुले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताए ।