
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपमहासचिवमा पराजित एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र मानिएका विष्णु रिमालले चुनावी परिणाम चिन्ताको बिषय नभएको र अस्वाभाविक पनि नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्–‘हाम्रो पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन साँच्चै असाधारण रह्यो—गरिमा, उत्साह र सामूहिक उपलब्धिको गहिरो अनुभूतिसहित सम्पन्न भयो। तपाईंलाई विदितै छ, ११ औं केन्द्रीय समितिको नयाँ नेतृत्व चयनका क्रममा महाधिवेशनमा स्वस्थ र कमरेडली प्रतिस्पर्धा देखियो। पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तावित टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो, जसमा एक जना उपमहासचिव—म स्वयं—र एक जना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो ।’
यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास भएको रिमालको भनाई छ । उनले अगाडि लेखेका छन्– ‘हामी जनताको बहुदलीय जनवादको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौं—पहलकदमी लिनु, प्रतिस्पर्धालाई आत्मसात गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु, र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु। यही भावनामा हामी सबैले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेका छौं ।’ आत्मीय र उत्साहवर्द्धक शब्दहरूका लागि हृदयदेखि धन्यवाद भन्दै उनले कृतज्ञता अर्पण गरेका छन्।
‘पार्टीभित्र मेरो औपचारिक भूमिका परिवर्तन भए पनि हाम्रो साझा संकल्प र कमरेडली भावना यथावत् छ। आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा सँगसँगै अघि बढ्नेछौं,’ उनले भनेका छन्।









Facebook Comments