काठमाडौँ । नेपाली साहित्य परिषद् सिक्किमका सचिव निलन न्यौपानेको नेतृत्वमा ७ जना साहित्यकारहरूको टोलीले काठमाडौँको बानेश्वरस्थित श्री रत्न पुस्तकालयको स्थलगत निरीक्षण भ्रमण गरेको छ । भ्रमणका क्रममा टोलीले सर्वप्रथम बानेश्वर महादेवस्थानको दर्शन गरी पुस्तकालय प्राङ्गणमा रहेका राष्ट्रिय विभूति तथा महान् साहित्यकारहरू महाकवि लक्ष्मीप्रसाद देवकोटा, वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, इतिहास शिरोमणि बाबुराम आचार्य, भूपि शेरचन, पारिजात, धरणीधर कोइराला, पहलमानसिंह स्वार र चित्तधर हृदयका शालिकहरूमा भावपूर्ण माल्यार्पण गरेको थियो ।

पुस्तकालयको कार्यकक्षमा आयोजित स्वागत समारोहमा दुवै पक्षका साहित्यकारहरूबीच आत्मीय परिचय आदानप्रदान हुनुका साथै संस्थागत गतिविधि र भावी योजनाका बारेमा विस्तृत छलफल भयो । सोही अवसरमा श्री टीका ढुङ्गेल 'रटन' द्वारा लिखित कृति “टीकाका टिपन् टापन्” को लेखक स्वयं, सचिव निलन न्यौपाने र पुस्तकालयका अध्यक्ष श्री शशिविक्रम राणाबाट सामूहिक विमोचन गरियो ।

ad

साहित्यिक सद्भावको प्रतीक स्वरूप सिक्किमेली टोलीले आफ्ना कृतिहरू पुस्तकालयलाई उपहार प्रदान गरे भने रत्न पुस्तकालयका तर्फबाट पनि 'पूजा' का विभिन्न विशेषाङ्कहरू (सत्यमोहन जोशी, राष्ट्रकवि माधव प्रसाद घिमिरे र स्वर सम्राट नारायण गोपाल विशेषाङ्क), 'सुनिता स्मृति ग्रन्थ' र 'गञ्जागोल' कविता सङ्ग्रह टोलीलाई हस्तान्तरण गरियो ।

उक्त भेटघाटमा दुवै संस्थाबीच आगामी दिनमा साहित्यिक गतिविधिहरूलाई तीव्रता दिने, संस्थागत भ्रमणको आदानप्रदानलाई निरन्तरता दिने र सिक्किमेली नेपाली साहित्य एवं नेपालको नेपाली साहित्यबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने ऐतिहासिक प्रतिबद्धता व्यक्त गरियो । रत्न पुस्तकालयको सक्रियता र भावी योजनाबाट उत्साहित हुँदै सिक्किमेली साहित्यकारहरूले आगन्तुक पुस्तिकामा शुभकामना मन्तव्य समेत व्यक्त गर्नुभयो । कार्यक्रमको समापन दुवै संस्थाका पदाधिकारीहरूको सामूहिक तस्विर खिचेर उल्लासमय वातावरणमा भयो ।