काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र केन्द्रीय कमिटीमा माओवादी पृष्ठभूमिबाट आएका नेताहरूले उल्लेख्य उपस्थिति जनाएका छन्। 

२०७४ सालको चुनावी तालमेलपछि एमाले र माओवादी केन्द्र एकीकरण भई २०७५ मा नेकपा बनेको थियो। तर २०७७ फागुनमा सर्वोच्च अदालतको फैसलापछि पार्टी विभाजन भएसँगै केही माओवादी नेताहरू एमालेमै कायम रहे।

ad

त्यही समूहका नेताहरूले यसपटकको एमाले महाधिवेशनमा उम्मेदवारी दिएर नेतृत्व तहमा स्थान सुरक्षित गरेका छन्। माओवादी पृष्ठभूमिबाट आएका पूर्व रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ उपाध्यक्षमा निर्वाचित भएका छन्। उनले एक हजार ५१६ मत प्राप्त गर्दै पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलपछि तेस्रो धेरै मतसहित उपाध्यक्षमा स्थान बनाएका हुन्।

उपमहासचिव पदमा लेखराज भट्ट सर्वाधिक मतका साथ विजयी भए। उनले एक हजार ४५२ मत प्राप्त गर्दै पार्टी सचिवालयमा बलियो उपस्थिति जनाएका छन्।

केन्द्रीय सदस्यतर्फ खुला थारु कोटाबाट उम्मेदवारी दिएका गौरीशंकर चौधरी थारु एक हजार ९१६ मतसहित निर्वाचित भए। उनी सो क्लस्टरमा दोस्रो धेरै मत ल्याउने उम्मेदवार बनेका छन्। आदिवासी जनजाति खुला कोटाबाट माओवादी पृष्ठभूमिकै लिलबहादुर थापामगर १ हजार ३२० मतसहित केन्द्रीय सदस्यमा विजयी भएका छन्।

महिला क्लस्टरमा पनि माओवादी पृष्ठभूमिका नेतृहरूले राम्रो मत परिणाम ल्याएका छन्। बागमती प्रदेश महिला सदस्यतर्फ निरकुमारी कुँवर ‘निरु दर्लामी’ दुई हजार ५ मतसहित निर्वाचित भइन्। तीनजना निर्वाचित हुने उक्त क्लस्टरमा उनी सबैभन्दा बढी मत ल्याउने उम्मेदवार रहिन्।

दलित महिला कोटाबाट रुक्मिणी राना बराइली १ हजार ७०५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भइन्। समावेशी मधेशी महिला तर्फबाट उम्मेदवारी दिएकी ज्वालाकुमारी साहले दुई हजार ४४ मत ल्याएर केन्द्रीय कमिटीमा स्थान सुरक्षित गरेकी छन्।

यसअघि माओवादी केन्द्रबाट आएका पूर्व मन्त्री टोपबहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि निलम्बित अवस्थामा रहेका कारण पार्टी गतिविधिमा सहभागी छैनन्।

एमाले महाधिवेशनको नतिजाले माओवादी पृष्ठभूमिबाट आएका नेताहरू पार्टीको केन्द्रीय नेतृत्व र निर्णय प्रक्रियामा अझै प्रभावशाली भूमिकामा रहेको देखाएको छ।