काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ भने तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी भने थुनामै रहने भएका छन्।

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रविलाई सर्तसहित रिहा गर्ने आदेश दिएको हो। तर, छविलाल जोशीले दिएको निवेदन प्रक्रिया पूरा नभएको ठहर गर्दै उनको हकमा भने तत्काल थुनामुक्त हुने आदेश आएन।

ad

इजलासले जोशीको निवेदन रितपूर्वक नपरेको भन्दै सक्कल प्रमाणसहित निवेदन दिएमा पुनःविचार गर्न मिल्ने उल्लेख गर्दै मिसिल जिल्ला अदालतमा पठाउन आदेश दिएको छ। मुद्दाको बहसमा संलग्न एक अधिवक्ताका अनुसार जोशीले पेश गरेको निवेदन आवश्यक कागजात र प्रमाण नजोडिएकाले अदालतले उनको माग तत्काल स्वीकार गर्न नसकेको हो।

अदालतको आदेशमा जोशीको हकमा भनिएको छ, 'दामासाहीले कायम हुने बिगो बराबर जमानत दिई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार आदेश गरिपाउँ भनी जमानतको छायाप्रति सहित अनुरोध गरेको देखिए पनि सो सम्बन्धमा सक्कल प्रमाणसहित निवेदन पेस भएमा पुनःविचार गर्न सकिने हुँदा सक्कल मिसिल सुरु जिल्ला अदालतमा पठाइदिनू।'

बहसमा सहभागी अधिवक्ताले जोशीको निवेदन रविको जस्तै विधि पूरा गरी दर्ता भएको भए उनको हकमा पनि थुनामुक्त हुने आदेश आउने सम्भावना रहेको बताए। अब उच्च अदालतको आदेशपछि जोशीले जिल्ला अदालतमा गएर सक्कल प्रमाण र बिगो बराबरको बैंक जमानत पेस गरेमा रविलाई जस्तै धरौटीमा रिहा हुने अवस्था बन्न सक्ने कानुन व्यवसायीहरूको भनाइ छ।