काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार २ सय २७ मत खसेकोमा ओलीले कूल १ हजार ६ सय ६२ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन् । पोखरेल प्यानलबाट पदाधिकारीमा दुई जना मात्र निर्वाचित भएका छन् । पोखरेल प्यानलबाट उपाध्यक्षमा उठेका गोकर्णराज बिष्ट र उपमहासचिवमा उठेका योगेश भट्टराई बिजयी भएका छन् । 

ad

यस्तै महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन् । उनी १२२८ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याएका थिए । 

यसैगरी एमालेको उपमहासचिवमा पोखरेल पक्षका योगेश भट्टराई निर्वाचित भएका छन । ओलीका विश्वासपात्र मानिएका विष्णु रिमाल पराजित भए । ओली प्रधानमन्त्री रहेको बेला सधैं रिमाल प्रमुख राजनीतिक सल्लाहकार हुने गर्दथे ।  ३ जना उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका हुन् । भट्टले १४५२, महासेठले १३६८ र भट्टराईले १३४८ मत प्राप्त गरेका थिए भने चौंथो नम्बरमा परेका रिमालले १०९१ मत पाए । 

एमाले सचिवमा सबै ओली प्यानलका उम्मेदवार विजयी भएका छन् । ओली प्यानलबाट सचिवको उम्मेदवार बनेका बस्नेत सबैभन्दा बढी १५४४ मत सहित विजयी भएका छन् । त्यसैगरि शेरधन राई, पद्मा अर्याल, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल विजयी भएका छन् ।