
लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गरेका दुईवटा हात्ती आज औपचारिक रूपमा कतार पठाएको छ। चितवनको सौराहाबाट भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली नामका हात्तीलाई कतार एयरवेजको विशेष कार्गो चार्टर विमानमार्फत कतारको राजधानी दोहा पठाइएको हो।
कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजले आज दिउँसो ५ बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट हात्ती लिएर उडान भरेको थियो। वन्यजन्तु ढुवानीका लागि आवश्यक सबै सुरक्षा र प्राविधिक व्यवस्था मिलाएर हात्तीलाई विशेष खोरसहित विमानमा राखिएको थियो।
नेपाल सरकारले विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा एक जोडी हात्ती उपहार दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार चितवनस्थित सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएर हुर्किएका र तालिम प्राप्त गरेका हात्ती छनोट गरिएको हो। पोथी हात्ती रुद्रकली सात वर्षकी र भाले हात्ती खगेन्द्रप्रसाद पाँच वर्षका छन्।
आज भैरहवा विमानस्थलमै नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा हात्ती कतार सरकारलाई हस्तान्तरण गरिएको थियो। वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले नेपालस्थित कतार दूतावासका डेपुटी चिफ अफ मिसन खालिफा अल्मारीलाई हात्ती हस्तान्तरण गरेका थिए। सो अवसरमा दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर बिदाइ गरिएको थियो।
वन्यजन्तुसम्बन्धी अन्तरराष्ट्रिय कानुन तथा नेपालको प्रचलित कानुनअनुसार साइटिस प्रमाणपत्र, स्वास्थ्य जाँच प्रतिवेदनलगायत सबै प्रक्रिया पूरा गरी हात्ती पठाइएको वन मन्त्रालयले जनाएको छ। कतारको राष्ट्रिय दिवसको अवसर पारेर गरिएको यो उपहारले नेपाल–कतारबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
कतार दूतावासका अधिकारीहरूले नेपाल सरकारप्रति आभार व्यक्त गर्दै हात्ती उपहारले दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउने बताएका छन्।









Facebook Comments