काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकामा खेल मैदान निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब–इन्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी तथा खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारी प्रतिवादी छन्। उनीहरुविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बिगो कायम गरिएको छ।

ad

अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/७७ मा संघीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र संघीय सांसद विकास कोषबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। फरक–फरक स्रोतबाट आएको बजेटका लागि छुट्टाछुट्टै लागत अनुमान तयार गर्नुपर्नेमा एउटै लागत अनुमान देखाई एकै आर्थिक वर्षमा एउटै उपभोक्ता समितिसँग दोहोरो सम्झौता गरिएको पाइएको छ।

त्यस्तै, बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित तल्लो बित्थड खेल मैदान निर्माणका क्रममा कमसल निर्माण सामग्री प्रयोग गरिएको, प्राविधिक रूपमा डीपीआर तयार नगरी काम अघि बढाइएको र काम पूरा नगरी भुक्तानी लिइएको आयोगको आरोप छ। यस प्रक्रियामा उपभोक्ता समिति र सम्बन्धित कर्मचारीबीच मिलेमतो भई रकम हिनामिना भएको निष्कर्ष निकालिएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।