
काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भारतविरोधी नारासहित निकालिएको प्रदर्शन प्रहरीले बीचमै रोकेको छ। ‘जुलाई युनिटी’ नामक समूहको नेतृत्वमा भारतीय उच्चायोगतर्फ अघि बढेको र्यालीलाई सुरक्षाकर्मीले ब्यारिकेड लगाएर अगाडि बढ्न नदिएका हुन्।
बीबीसीका अनुसार बुधबार दिउँसो प्रदर्शनकारीहरू उच्चायोग नजिक पुग्न खोज्दा प्रहरी हस्तक्षेप गरेको थियो। पछिल्ला दिनहरूमा बंगलादेशका विभिन्न स्थानमा भारतविरोधी प्रदर्शन बढ्दै गएका छन्। पूर्वप्रधानमन्त्री सेख हसिना भारतमा शरण लिएको विषयलाई लिएर प्रदर्शनकारीहरू असन्तुष्ट देखिएका छन् र उनलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग उठाइरहेका छन्।
प्रदर्शनकारीहरूले बंगलादेशमा रहेका हिन्दू अल्पसंख्यकको सुरक्षाका विषयमा भारतले व्यक्त गरेको चिन्ता तथा धार्मिक अगुवा चिन्मय कृष्ण दासको गिरफ्तारीप्रति देखाएको चासोलाई बंगलादेशको आन्तरिक मामिलामा हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्।
‘जुलाई युनिटी’ लगायतका समूहहरूले अन्तरिम सरकारको समर्थनमा र अघिल्लो शासन व्यवस्थाको प्रभाव अन्त्य गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेको जनाइएको छ। भारतीय उच्चायोगलाई लक्षित गर्दै प्रदर्शन भएपछि भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित बंगलादेशी उच्चायुक्तलाई बोलाएर ढाका, चटगाउँ तथा अन्य स्थानमा रहेका भारतीय कूटनीतिक नियोग र कर्मचारीको सुरक्षाबारे गम्भीर चासो व्यक्त गरेको छ।
यसअघि भारतको अगरतलामा रहेको बंगलादेशी कन्सुलेटमा तोडफोड भएको घटनापछि त्यसको प्रतिक्रिया स्वरूप बंगलादेशमा पनि भारतीय नियोगविरुद्ध प्रदर्शन भएको बताइएको छ।
यता बंगलादेशको अन्तरिम सरकारले भारतीय कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको भए पनि सडकमा बढ्दो प्रदर्शन र भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई कठिनाइ भइरहेको बताइएको छ।









Facebook Comments