
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले पार्टीभित्र परिवर्तनको चाहनालाई निर्वाचन परिणामले सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले पार्टीलाई विचार, कार्यशैली र नेतृत्व पद्धतिमा पुनःव्यवस्थित गर्दै सामूहिक नेतृत्वको अभ्यासतर्फ लैजान आफ्नो उम्मेदवारी रहेको बताए।
महाधिवेशनअन्तर्गत बिहानदेखि सुरु भएको मतदान साँझसम्म पनि जारी रहँदा पोखरेल मतदान स्थल भृकुटीमण्डप पुगेका थिए। त्यहाँ सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले मतदान प्रक्रिया रातिसम्म चल्ने जानकारी दिए।
मतदान केन्द्रमा देखिएको प्रतिनिधि र कार्यकर्ताको उत्साहप्रति खुसी व्यक्त गर्दै पोखरेलले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न पार्टी पंक्ति सक्रिय देखिएको बताए। 'लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छान्न साथीहरू जुट्नुभएको छ, यसले सकारात्मक सन्देश दिएको छ,' उनले भने।
क्लस्टर प्रणालीअनुसार मतदान गर्नुपर्ने भएकाले मत हाल्न अपेक्षाकृत बढी समय लागिरहेको उनको भनाइ छ। उनले आफूले बिहान मतदान गर्दा एक घण्टा चार मिनेट लागेको अनुभव सुनाए।
'कसैलाई १२–१५ मिनेट लागिरहेको छ भने कतिपयलाई दुई घण्टासम्म लागिरहेको सुन्दै छु,' पोखरेलले भने, 'मलाई नै एक घण्टा चार मिनेट लाग्यो।'
एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ।









Facebook Comments