काठमाडौँ । नेपाली कांग्रेसका विदेशस्थित जनसम्पर्क समितिमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद अब सिधै केन्द्रले हेर्ने भएको छ। पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले धेरै विवाद देखिएका जनसम्पर्क समितिहरूको जिम्मेवारी केन्द्रले नै लिएर समस्या समाधान गर्ने निर्णय गरेको हो।

बैठकले क्यानडा, बेलायत र अस्ट्रेलियाका जनसम्पर्क समितिमा क्रियाशील सदस्यता विवाद गहिरिएको निष्कर्ष निकाल्दै ती स्थानको विषय केन्द्रीय समितिमार्फत सहजीकरण गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए।

ad

निर्णयअनुसार क्यानडाको विषय योगेन्द्र चौधरी, बेलायतको सीता गुरुङ र अस्ट्रेलियाको रसाइली स्वयंले हेर्ने जिम्मेवारी पाएका छन्। ती नेताहरूको समन्वयमा केन्द्रबाटै विवाद टुंग्याउने तयारी गरिएको छ।

यसैबीच, बैठकले नयाँ क्रियाशील सदस्यताका लागि क्रमसंख्यासहितको नयाँ फारम वितरण सुरु गर्ने निर्णय पनि गरेको छ। यसअघि क्रमसंख्या नभएका फारम जिल्ला तहमा पठाउँदा विवाद उत्पन्न भएपछि ती फारम स्थगित गरी नयाँ फारम पठाउन थालिएको हो।

क्रियाशील सदस्यताको विवाद वडा र पालिकादेखि जिल्लामै समाधान गरेर मात्रै केन्द्रमा पठाउन निर्देशन दिइएको रसाइलीले बताए। जिल्ला तहमा टुंगो नलागेसम्म केन्द्रले सदस्यता स्वीकृत नगर्ने विषयमा पनि बैठकमा स्पष्ट सहमति बनेको छ।

त्यसैगरी, नयाँ र पुराना क्रियाशील सदस्यको विवरण प्रविष्ट गर्ने काम सुरु भइसकेको र त्यसका लागि आवश्यक जनशक्ति थप गरेर प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।