काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान रातिसम्म चल्ने भएको छ। भृकुटीमण्डपमा जारी मतदानमा साँझसम्म ८०२ प्रतिनिधिले मत खसालिसकेका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार बिहान ९ः१२ बजेदेखि सुरु भएको मतदानमा सहभागी मतदाताले मतदान गर्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घण्टा ५ मिनेटसम्म समय लिएको पाइएको छ। औसतमा एक जना मतदातालाई २५ देखि ३० मिनेटसम्म समय लागिरहेको उहाँले जानकारी दिनुभयो।

ad

आयोगले साँझ ८ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेका सबै प्रतिनिधिलाई मतदान गर्न दिने निर्णय गरेको छ। त्यसका लागि अहिले लाइनमा रहेका मतदातालाई टोकन वितरण गरेर व्यवस्थापन गरिएको छ। यस व्यवस्थाका कारण मतदान प्रक्रिया राति अबेरसम्म चल्ने आयोगको अनुमान छ।

महाधिवेशनमा एमालेको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहबीच प्रतिस्पर्धा भइरहेको छ। ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ।

मतदान प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको आयोगले जनाएको छ। मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको उपाध्यक्ष पोखरेलले बताउनुभयो।

महाधिवेशनमा देशभरबाट २ हजार २६३ प्रतिनिधि मतदाताका रूपमा सहभागी छन्।