
जनकपुरधाम । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका विभिन्न १८ कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी नियम उल्लङ्घन गरेको पाइएपछि कारबाहीको दायरामा परेका छन्।
पुस १ र २ गते दुई दिनसम्म गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारी कार्यालय समयमा अनुपस्थित वा अनुशासनहीन अवस्थामा भेटिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। निरीक्षणका क्रममा पूर्वस्वीकृति नलिई कार्यालय नआउने, तोकिएको पोषाक नलगाउने, हाजिर नगर्ने लगायतका अनियमितता व्यापक रूपमा देखिएको जनाइएको छ।
कारबाहीमा परेका कर्मचारी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रलगायत निकायमा कार्यरत रहेका छन्। कारबाहीमा परेकामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी छन्।
तहगत विवरणअनुसार उपसचिव २ जना, शाखा अधिकृत सरहका ४१ जना, नायब सुब्बा सरहका १६ जना, खरिदार सरहका ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना कारबाहीमा परेका हुन्। मुख्यमन्त्री कार्यालयका अनुसार पूर्वस्वीकृति बिना अनुपस्थित ३४ जना र तोकिएको पोषाक नलगाएका ३८ जना कर्मचारी भेटिएका थिए।
नियम उल्लङ्घन गर्ने कर्मचारीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको र सम्बन्धित कार्यालय तथा निकायमा विवरणसहित पत्राचार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रदेश सरकारका अनुसार सेवा प्रवाहलाई अनुशासित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यस्ता छड्के निरीक्षणलाई निरन्तरता दिइनेछ। जनकपुरधामपछि मधेश प्रदेशका बाँकी सात जिल्लामा पनि चरणबद्ध रूपमा अनुगमन र निरीक्षण गरिने मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।









Facebook Comments