
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारले चुनाव गराउनेमा आशंका व्यक्त गरेका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले सरकारको नियतमाथि शंका व्यक्त गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने विषय उठाएकोमा आपत्ति जनाए ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा चुनाव गर्न इच्छुक नभएको हो कि भन्ने शंका लाग्न थालेको उनले बताए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा भाग लिने भनेर निर्णय गरिसकेको छ। हामीले चुनावमा भाग लिने भनेका छौं,’ कोइरालाले भने, ‘तर, मलाई त सरकार नै इच्छुक छ कि छैन भन्ने डर लाग्न थालेको छ।’
५ हजार कैदी अझै फरार रहेको र लुटिएका हतियार फिर्ता नभएको उल्लेख गर्दै कोइरालाले शान्ति सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरे ।
‘एउटा पार्टीको अध्यक्षलाई भ्याली नछोड्न भनिएको छ। यस्तो अवस्थामा कसरी चुनाव हुन्छ’ भन्ने उनले प्रश्न गरे ।
निर्धारित मितिमा निर्वाचन सम्पन्न नभए विघटित संसद पुनःस्थापनाको माग अघि बढेर जाने पनि कोइरालाले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले उपत्यका छाड्न रोक लगाएको छ। आयोगले उनीहरूमाथि लगाएको स्थानहदले निर्वाचन हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको कोइरालाको भनाइ छ।









Facebook Comments