काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि करिब ७० प्रतिशत तयारी पूरा भइसकेको जनाएको छ। आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न आयोग सुरुदेखि नै दृढताका साथ अघि बढिरहेको बताएका हुन्।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचनकेन्द्रित छलफल कार्यक्रममा सरकारका मन्त्रीहरूसँग संवाद गर्दै भण्डारीले राष्ट्रपति कार्यालयबाट निर्वाचन घोषणा भएयता आयोगले चरणबद्ध रूपमा काम अघि बढाएको उल्लेख गरे। 'निर्वाचन घोषणा भएको दिनदेखि शून्य अवस्थाबाट काम सुरु गरेका थियौँ। हालसम्म करिब ७० प्रतिशत तयारी पूरा भइसकेको छ,' उनले भने, 'निर्वाचनको वातावरण क्रमशः बनिरहेको छ र निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन।'

ad

उनका अनुसार निर्वाचनसम्बन्धी संविधान, ऐन तथा कानुन पुराना भएकाले प्रविधि र कार्यपद्धतिमा केही सुधार आवश्यक देखिएको छ। यही सन्दर्भमा आयोगसमक्ष विभिन्न मागसहित दैनिक दुई–चारवटा ज्ञापनपत्र आउने गरेको उनले जानकारी दिए। निर्वाचन आयोगसँग प्रत्यक्ष सम्बन्धित ऐन, नियम र कानुनी व्यवस्थालाई संशोधनमार्फत सरल र प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन खर्च नियन्त्रणबारे उठाएको प्रश्नमा आयुक्त भण्डारीले आयोग खर्चमा मितव्ययी रहने स्पष्ट पारे। 'सरकारी कोषबाट हुने खर्च अत्यन्तै मितव्ययी ढङ्गले गर्ने हाम्रो नीति हो,' उनले भने, '२०७९ सालमा सम्पन्न भएका दुईवटा निर्वाचनमा पनि यही अभ्यास गरेर देखाइसकेका छौँ।'

उनले आगामी निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चमा समेत कडाइ गरिने बताए। उम्मेदवारको खर्च सीमा भूगोलको अवस्था र सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सङ्ख्याका आधारमा निर्धारण गरिने आयोगको तयारी रहेको भण्डारीको भनाइ छ।