
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक आह्वान गर्ने तयारी भइरहेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले आवश्यक भौतिक पूर्वाधार तयार भएलगत्तै बैठक बोलाइने स्पष्ट पारे ।
उनका अनुसार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिको हल निर्माणको काम सकिएपछि राष्ट्रियसभा बैठक सञ्चालन गर्न सहज हुने छ । त्यसका लागि केही दिनभित्रै प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारीसमेत भएको उनले बताए । राष्ट्रियसभा बैठक बोलाउने विषयमा सरकार असहमत नरहेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले पुस १० देखि १२ गतेभित्र बैठक बस्ने गरी तयारी भइरहेको जानकारी दिँदै त्यस अवधिसम्म हल निर्माण सम्पन्न हुने अपेक्षा गरिएको बताए । ठेकेदारलाई निर्माण कार्य तोकिएको समयमै पूरा गर्न निर्देशन दिइएको पनि उनले उल्लेख गरे ।
यद्यपि, बैठक सञ्चालनका लागि पर्याप्त बिजनेस नहुनु चुनौतीका रूपमा देखिएको अध्यक्ष दाहालको भनाइ छ । उनका अनुसार राष्ट्रियसभामा हाल सीमित विधेयक मात्रै बाँकी छन् र करिब १० दिनसम्म चल्ने जति मात्र बिजनेस उपलब्ध छ ।
केही विधेयक निस्क्रिय भइसकेका छन् भने एउटा आर्थिक विधेयक अध्यादेशमार्फत आएको हुँदा त्यसमा राष्ट्रियसभाले छलफल गर्न पाउने अधिकार छैन ।
‘हामीसँग २–३ वटा विधेयक र केही आयोगका प्रतिवेदन मात्र छन्,’ अध्यक्ष दाहालले भने, ‘मन्त्रीहरूलाई बोलाएर छलफल गर्न सकिन्छ, तर लामो समयसम्म सदन चल्ने जति बिजनेस छैन ।’
यस अवस्थालाई ध्यानमा राख्दै उनले सरकारलाई थप विधायी कार्यसूचीको व्यवस्था गर्न आग्रह गरिसकेको बताए । पर्याप्त बिजनेस नहुँदा पनि संसद् सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले ‘जसोतसो सदन चलाउनुपर्ने अवस्था’ रहेको टिप्पणी गरे ।









Facebook Comments