
काठमाडौं । सरकारद्वारा गठित वार्ता समितिले नागरिक बचाउ अभियानका प्रतिनिधिसँग औपचारिक छलफल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्तामा दुवै पक्षले समसामयिक राजनीतिक अवस्था र मागका विषयमा विचार–विमर्श गरेका छन् ।
सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना वार्तामा सहभागी थिए । अभियानको तर्फबाट प्रेमदीप लिम्बु, देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी भए ।
वार्ताको सहजीकरण अधिवक्ता विनोदमणि भट्टराई र लवण न्यौपानेले गरेका थिए । छलफलपछि आजको वार्ताबाट निस्किएको निष्कर्षका आधारमा अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग प्रत्यक्ष वार्ता गर्ने तयारी भएको जनाइएको छ ।
सरकारले निर्वाचन प्रक्रिया सहज र शान्तिपूर्ण रूपमा अघि बढाउन राजनीतिक वातावरण अनुकूल बनाउन संवादलाई प्राथमिकता दिँदै आएको छ । यही उद्देश्यका साथ केही दिनअघि सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।
कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित उक्त समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य छन् । समितिअन्तर्गत विभिन्न राजनीतिक दल तथा सरोकारवाला समूहसँग छलफल गर्न सञ्चारमन्त्री खरेलको नेतृत्वमा छुट्टै वार्ता समिति बनाइएको थियो । सोही समितिले आज नागरिक बचाउ अभियानसँग वार्ता गरेको हो ।









Facebook Comments