
काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रस्टको सरकारी जग्गा भाडा प्रकरणले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य घुसकाण्डमा प्रत्यक्ष संलग्न रहेको भनिएका प्रमाण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।
यस प्रकरणमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ओली स्वयंको भूमिकामाथि समेत निष्पक्ष छानबिन हुनुपर्ने माग अघि सारेको छ । संगठनले स्वकीय सचिवको गतिविधि प्रधानमन्त्रीको जानकारी र संरक्षणबिना सम्भव नहुने दाबी गर्दै राजनीतिक तथा कानुनी जिम्मेवारी ओलीले लिनुपर्ने जनाएको छ ।
अनेरास्ववियूले जारी गरेको विज्ञप्तिमा बज्राचार्यले भक्तपुरको रोज भिलेज हाउजिङमा घर घुसस्वरूप लिएको प्रमाण सार्वजनिक हुनु राज्य संयन्त्रको दुरुपयोगको स्पष्ट उदाहरण भएको उल्लेख छ । गोकर्ण रिसोर्ट, तहाचल र चितवनस्थित नेपाल ट्रस्टअन्तर्गतका बहुमूल्य सरकारी जग्गा कानुन र प्रक्रिया मिचेर लिजमा दिइनु गम्भीर आर्थिक अपराध भएको संगठनको ठहर छ ।
विज्ञप्तिमा गोकर्ण रिसोर्टको लिज अवधि नसकिँदै २०७६ सालमा थप अवधि बढाइएको घटनालाई विशेष रूपमा उठाइएको छ । संगठनका अनुसार तत्कालीन प्रधानमन्त्री ओलीको प्रत्यक्ष संरक्षणमा २०५० सालसम्मका लागि लिज थपिनु शक्ति दुरुपयोगको चरम रूप हो । अनेरास्ववियूले यो प्रकरण स्वकीय सचिवको व्यक्तिगत गलतिमा सीमित नरही नीतिगत तहमै भएको भ्रष्टाचार भएको दाबी गरेको छ ।
‘हामीले यो लिज प्रक्रिया सुरु भएकै बेला घोटाला भएको भन्दै आवाज उठाएका थियौँ, तर सत्ताको आडमा हाम्रो चेतावनी बेवास्ता गरियो,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले सार्वजनिक भएका प्रमाणहरूले हाम्रो आशंका सही रहेको पुष्टि गरेका छन्।’
संगठनले राजेश बज्राचार्यलाई तत्काल पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन र प्रकरणमा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ । साथै उच्चस्तरीय छानबिनमार्फत नेपाल ट्रस्टका सबै लिज सम्झौताको पुनरावलोकन गर्नुपर्ने अनेरास्ववियूको आग्रह छ ।










Facebook Comments