काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले एमालेमाथि गरिएका चुनौती र प्रहारलाई चिर्दै पार्टीको पक्षमा जनलहर उर्लिएको बताए। उनले भने, ‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ। लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ। सिंगो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ।’

ad

अध्यक्ष ओलीले एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक निर्माण र सुशासनमा अग्रसर रहने प्रतिबद्धता दोहोर्‍याए। उनले पार्टी सामाजिक न्याय र समावेशिताको अगुवा भएको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा सबै क्षेत्रको समावेशिता स्थापित गरेको बताए।

उनी एमालेलाई गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए। महाधिवेशनको विशाल उपस्थितिलाई बेवास्ता नगर्न स्मरण गराउँदै उनले विघटित संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

अध्यक्ष ओलीले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसमा घुसपैठबाट राज्य संरचनामा कमजोरी आएको तर लोकतन्त्र शान्तिपूर्ण र न्यायपूर्ण बलमा फर्काउने विश्वास पनि व्यक्त गरे। साथै, उनले अहिलेको सरकारमाथि निर्वाचनको वातावरण बनाउन नभई पूर्वाग्रह र संविधानविपरीत काममा लागेको आरोप लगाए।