
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमुना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमालेले आज प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाउनका लागि नमुना मतदान अभ्यास गराएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले केन्द्रीय कार्यालयमा आएका प्रतिनिधिलाई नमूना मतदान गराएर विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाइएको जानकारी दिए । ‘प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा कसरी मतदान गर्ने भनेर सिकाइएको छ,’ उनले भने, ‘धेरैजसो प्रतिनिधिले आफैँ मतदान गर्न जान्नुभएको रहेछ ।’
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार आज एमाले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान अभ्भ्यास गराइएको जानकारी दिए । एमालेको महाधिवेशनमा दुई हजार ४०० प्रतिनिधि सहभागी हुँदै छन् ।
उनका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डपमा १० वटा विद्युतीय मेसिन राखेर प्रतिनिधिलाई मतदान गर्न सिकाइनेछ ।
एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ ।
यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।









Facebook Comments