
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अहिलेको संविधान र व्यवस्था असफल भइसकेको निष्कर्ष निकालेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले १३ बुँदे निर्णय गर्दै यस्तो निष्कर्ष निकालेको हो।
राप्रपाले भदौ २३ र २४ गतेको जेनजी विद्रोह र विध्वंसलाई ‘मूल रूपमा २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र जे नाम दिए पनि मूल रूपमा देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अंगहरूमाथिको दलीयकरण, सत्ता लिप्सा, सत्ता केन्द्रित वैदेशिक सम्बन्धको दुष्परिणाम हो’ मंसिर २४ गतेदेखि तीन दिनसम्म चलेको बैठकको ठहर छ।
सतहमा अकल्पनीय घटना भए पनि ३५–३६ वर्षदेखि मुख्य दल र नेताका कारण समाजमा उत्पन्न भएको निराशाले भयानक विद्रोहको स्वरूप ग्रहण गरेको राप्रपाले भनेको छ। राप्रपाले राजनीति र नेतृत्वप्रति विकसित भएको घृणाबारे बारम्बार सचेत गराइरहेको उल्लेख गर्दै अहिलेको ‘विद्रोह अकल्पनीय र अनपेक्षित’ नभएको राप्रपाले बताएको छ।
केही घण्टामै देश ठप्प पर्ने र प्रधानमन्त्री हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति बन्नुले देश चलाइरहेको छु भन्ने नेता र दललाई धक्का दिएको राप्रपाले ठहर गरेको छ।
‘यो घटनाले राज्य व्यवस्था कति कमजोर रहेछ भन्ने कुरा उजागर गरेको छ। एकमुष्टमा भन्दा वर्तमान संविधान र संवैधानिक व्यवस्था र यो संविधान ल्याउने र पछ्याउने नेता र दलहरू समेत असफल साबित भएका छन्,’ राप्रपाले भनेको छ।
‘अब यही असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबरजस्त अगाडी बढाउने कोसिस गर्नु, राजनीतिक समस्याको समाधान नगरीकन र जेनजीको माग सम्बोधन नगरी आमनिर्वाचनमा जानु भनेको मुलुकलाई थप द्वन्द्व धकेल्नु हो भन्ने राप्रपाको ठहर छ,’ राप्रपाको निर्णयमा उल्लेख छ।













Facebook Comments