
काठमाडौं । कतारलाई उपहारस्वरूप पठाइने चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती, ६ वर्षीय भाले ‘खगेन्द्रप्रसाद’ र ७ वर्षीया पोथी ‘रुद्रकली’लाई पुस २ गते चार्टर विमानबाट पठाइने तयारी अन्तिम चरणमा पुगेको छ ।
पुस १ गते बिहान यी दुवै हात्तीलाई विशेष रूपमा तयार पारिएका फलामे खोरमा राखेर चितवन–नवलपरासी हुँदै महेन्द्र राजमार्गमार्गबाट भैरहवा विमानस्थल पुर्याइने छ । भैरहवामा एक रात राखेर पुस २ गते चार्टर उडानमार्फत कतार पठाइने वन विभागले जानकारी दिएको छ ।
कतारको अल्खोरस्थित चिडियाखानामा अवलोकनका लागि राख्न नेपालले सद्भावना स्वरूप यी दुई हात्ती निःशुल्क प्रदान गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलजिस्ट हरिभद्र आचार्यका अनुसार हात्तीका साथ पशु सहायक दिनेश ढकालसहित दुई जना माहुत पनि कतारसम्म पुग्नेछन् । हात्तीको दैनिक आनीबानी, हेरचाह र व्यवहारका सबै अभ्यास त्यहाँका स्थानीय माहुतलाई सिकाएर कम्तीमा एक महिनापछि उनीहरू फर्किने व्यवस्था गरिएको छ ।
कतारले हात्तीसहितको बसोबासका लागि चितवनको तापक्रमअनुकूल एसीसहितको विशेष खोर निर्माण गरिसकेको छ । हात्तीको आकारअनुसार तयार गरिएका दुईवटा छुट्टाछुट्टै कक्ष, आवश्यक संरचना र सम्पूर्ण यातायात खर्च समेत कतारले नै व्यहोरेको विभागले जनाएको छ ।
दाउन्ने क्षेत्रमा सडक भत्किएको स्थानमा प्राविधिक अवलोकनपछि सुरक्षित रूपमा ट्रकमार्फत हात्ती लैजाने तयारी भइरहेको हात्ती प्रजनन् केन्द्रका प्रमुख अधिकृत मणिपुरन चौधरीले बताए ।
काठमाडौँस्थित कतारी दूतावासका प्रतिनिधिलाई वन र परराष्ट्र मन्त्रालयका सचिवहरूले भैरहवामा नै औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।
गत १२ वैशाख २०८१ मा नेपाल भ्रमणका क्रममा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले फर्किँदा खगेन्द्रप्रसाद र रुद्रकलीलाई साथमै लैजाने घोषणा गरेका थिए । चितवन निकुञ्जका अनुसार रुद्रकली ‘पूजाकली’ र खगेन्द्रप्रसाद ‘कोशीकली’ का सन्तान हुन् ।









Facebook Comments