काठमाडौं । लुम्बिनी लायन्सले उत्कृष्ट बलिङ प्रदर्शनका आधारमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल यात्रा टकेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले विराटनगरलाई सहजै पराजित गर्दै लगातार पाँचौं जित हात पार्‍यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट खोसिएर १३४ रन बनाउन सफल भयो । लक्ष्य पछ्याउन आएको विराटनगर भने १७.५ ओभरमै ९४ रनमा समेटियो । यसअघि पनि पहिलो क्वालिफायरमा विराटनगर १०० रनभन्दा तलमै झरेको थियो, लगातार दोस्रो खेलमा पनि समान दयनीय प्रदर्शन दोहोरियो ।

ad

लुम्बिनीका लेगब्रेक बलर तिलकराज भण्डारी दिनकै प्रभावकारी खेलाडी बने । उनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अभिशेष गौतम, रुबेन ट्रम्पलमन र जेजे स्मिटले २–२ विकेट हात पारे भने शेर मल्लले १ विकेट लिए । ट्रम्पलमनले मात्र ३ ओभरमा ९ रन खर्चेर शीर्षक्रम उठाउन निर्णायक भूमिका खेले ।

विराटनगरले ६ रनमै तीन विकेट गुमाउँदै खेलको धरहरा भत्किएको संकेत दिइसकेको थियो । ट्रम्पलमनले लगातार बलमा विश्वस्तरीय ओपनर मार्टिन गप्टिललाई २ रनमा र लोकेश बमलाई शून्यमा फर्काए । अर्को ओभरमा शेर मल्लले फाफ डु प्लेसिसलाई ३ रनमा बोल्ड गरेपछि विराटनगरको इनिङ शुरूमै धराप भयो ।

साम हेजलेटले ३४ रन बनाएर केही प्रतिरोध देखाए पनि उनको इनिङ विराटनगरलाई जोगाउन पर्याप्त भएन । डे लेंगेले १७, कप्तान सन्दीप लामिछाने र बसिर अहमदले ३–३, प्रतिश जिसीले २ रन बनाए । नरेन भट्ट २१ रन बनाउँदै अन्तिम आउट भएका खेलाडी बने ।

यसअघि लुम्बिनीका रोहित पौडेल र डी’आरसी शटले दोस्रो विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङलाई सम्हालेका थिए । रोहितले ३० बलमा ३० रन बनाए भने शटले सर्वाधिक ४५ रन जोडे । हल्का सुरुवात र मध्यक्रमको पतनका कारण लुम्बिनी १५० नजिक पुग्न सकेन ।

विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले ३–३ विकेट लिए । सुवासले ४ ओभरमा १४ रन खर्चेर तीन विकेट निकाल्दै उत्कृष्ट प्रदर्शन गरे भने सन्दीप लामिछानेले २ विकेट हात पारे ।

अब लुम्बिनी लायन्सले शनिबार हुने उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । लगातार पाँच खेल जितेको लुम्बिनी फाइनलमा पनि शारीरिक, मानसिक र रणनीतिक रूपमा मजबुत देखिएको छ ।