काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच बिहीबार निर्वाचन प्रणालीअन्तर्गत समावेशी समूहको प्रतिनिधित्व गराउने सम्बन्धमा छलफल भएको छ। 

गृहमन्त्री अर्यालको अध्यक्षतामा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, मुख्यसचिव सुमनराज अर्याल, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरसहित बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जनसंख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने सम्बन्धमा छलफल भएको हो। 

ad

बैठकमा आयोगका पदाधिकारी, गृह सचिव रामेश्वर दंगाल र प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी सहभागी थिए । 

उनका अनुसार छलफल भएबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोकत्वमा निर्वाचन आयोग, संघीयय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयका प्रतिनिधिहरु रहेको ६ सदस्यीय समिति गठन भएको छ।

बैठकमा राष्ट्रिय  जनगणनाका आधारमा समावेशी आधार प्रतिशत तय गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदेश तोकिएको उनको भनाइ छ। 

०७८ सालमा सम्पन्न भएको राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन प्रकाशन भइसकेको हुँदा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्नुपर्ने व्यवस्था छ।