काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी १० बुँदे सम्झौता सरकार र जेन–जी समूहबीच सम्पन्न भएको केही मिनेटमै जेन–जी प्रतिनिधिहरू प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमै विवादमा उत्रिएपछि सिंहदरबारमा माहोल तनावग्रस्त भयो।

प्रधानमन्त्री कार्की र जेन–जी सहिद परिवारका तर्फबाट भोजविक्रम थापाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएलगत्तै जेन–जी तर्फका विभिन्न समूहबीच तीव्र मतभेद सतहमा आए।

ad

प्रधानमन्त्री बसिरहेको कक्षमै उभिएर एकअर्कामाथि आरोप–प्रत्यारोप चल्न थालेपछि कर्मचारीले बारम्बार अनुशासन कायम राख्न आग्रह गर्नुपर्यो। 

सरकारले जेन–जी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी (सुधन गुरुङ समूह) र जेन–जी फ्रन्ट (रक्षा बम समूह)सँग संयुक्त रूपमा गरेको सम्झौताले केही प्रतिनिधि असन्तुष्ट देखिए।

सम्झौता पढेर सुनाइएपछि एक जेन–जी युवतीले 'राष्ट्रपतिसँग सम्झौता खोई?' भनी प्रश्न उठाइन्। अर्का युवाले केही व्यक्तिले आन्दोलन कब्जा गरेर 'टालटुले सम्झौता गरियो' भन्दै आरोप लगाए।

घाइते र अग्रपंक्तिमा रहेका युवाहरूको आवाज नसमेटिएको, सीमित व्यक्तिहरूको मात्र उपस्थिति सुनिश्चित गरिएको आरोपसमेत उठेपछि झण्डै पाँच मिनेटजति कार्यक्रम नै अवरुद्धजस्तै भयो।

तनावबीच पनि सरकारले सम्झौता कार्यान्वयनका प्रक्रिया अघि बढाउने संकेत दिएको छ, भने जेन–जीका भित्रका समूहबीच एकमत कायम हुनु चुनौतीपूर्ण देखिएको छ।