
काठमाडौँ । मधेशको राजनीतिक क्षेत्रमा सक्रिय तीन दल—लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)—ले औपचारिक रूपमा एकता घोषणा गरेका छन्।
बुधबार तिनै दलका अध्यक्ष महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृशेषचन्द्र लालले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै पार्टी एकीकरणको घोषणा सार्वजनिक गरे।
संयुक्त वक्तव्यका अनुसार ताजा राजनीतिक संकटको समाधान, भ्रष्टाचार र बेथितिको अन्त्य तथा विधि–शासन स्थापनार्थ नयाँ जनादेश आवश्यक ठहर भएकाले एकता अनिवार्य भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ कि देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउन समान नागरिक अधिकार, समानुपातिक समावेशिता र विविधताको सम्मान अपरिहार्य छ, र त्यस दिशामा अघि बढ्न सीमान्तीकरणमा परेका समुदायहरूको ठूलो राजनीतिक शक्ति निर्माण गर्नु आवश्यक छ।
तीन दलले देशव्यापी प्रभाव पार्ने एकीकृत मधेशवादी शक्ति निर्माणका लागि मधेश, थरूहट, आदिवासी जनजाति, दलित, मुस्लिमसहित सबै सम्बद्ध राजनीतिक शक्ति र व्यक्तित्वहरूलाई सहयात्राका लागि आह्वान गरेका छन्।
एकीकृत दलको औपचारिक ढाँचा, नाम र आगामी रणनीतिबारे चाँडै सार्वजनिक गरिने बताइएको छ।










Facebook Comments