काठमाडौँ । आगामी चुनावी तयारीको संवेदनशील समयमै सरकारले सोमबार आठ जना सचिवहरूको व्यापक सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकबाट गरिएको एकैपटकको ठूलो सरुवाले विभिन्न मन्त्रालय, आयोग र निकायहरूको नेतृत्व पुनःव्यवस्थित गरिएको छ।

निर्वाचन आयोगमा तयारीहरू तीव्र भइरहेका बेला आयोगका सचिव महादेव पन्थलाई सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको छ। पन्थले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन र माघ ११ गतेको निर्वाचनको तयारीमा ऐन, नियमावली र कार्यविधि निर्माणसम्ममा महत्वपूर्ण भूमिका खेलेका थिए।

ad

उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई निर्वाचन आयोगको नयाँ सचिव बनाइएपछि उद्योग मन्त्रालयमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई पठाइने निर्णय गरिएको छ।

त्यसक्रममा प्रधानमन्त्री कार्यालयमै अतिरिक्त समूहमा रहेका सचिव कमल पोखरेललाई तथ्यांक कार्यालयमा स्थानान्तरण गरिएको छ। खानेपानी मन्त्रालयकी सचिव प्रमीलादेवी बज्राचार्यलाई नेपाल ट्रस्टमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत रामआधार साहलाई खानेपानी मन्त्रालयको नेतृत्वमा पठाइएका छन्।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा, र त्यहाँका सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा अदल–बदल गरिएको छ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार पौडेललाई सचिवमा पदोन्नति गरी कोशी प्रदेशको प्रमुख सचिवमा पठाइएको छ। कोशी प्रमुख सचिवको जिम्मेवारीमा रहेकी चन्द्रकला पौडेललाई यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको थियो।

सरकारको यो कदम निर्वाचन नजिकिँदै गरेको संवेदनशील चरणमा प्रशासनिक व्यवस्थापनलाई पुनः कसिलो बनाउन गरिएको रहेको विश्लेषण भइरहेका छन्।