काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका माग सम्बोधनका लागि आफू सरकारमा रहुञ्जेल पूर्ण प्रतिवद्ध हुने बताउँदै सुदन गुरुङलाई ‘मेरो जेठो छोरा’ भनेर सम्बोधन गरेकी छिन्। सिंहदरबारमा जेनजी आन्दोलनका प्रतिनिधिसँग १० बुँदे सम्झौतामा हस्ताक्षर गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएकी हुन्।

सम्झौता पत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका शहीद तथा घाइतेहरूका पक्षमा सरकार निरन्तर उभिने आश्वासन दिइन्। 'हामी सरकारमा रहेसम्म तपाईंहरूको पक्षमा निरन्तर काम गर्छौँ। युवा शक्तिहरू देशमै बसून्, यहीँ रोजगार पाऊन्— त्यही मेरो चाहना हो,' उनले भनिन्।

ad

युवा पुस्ताले आफूलाई ‘आमा’को रूपमा स्वीकार गरेको उल्लेख गर्दै कार्कीले भावुक हुँदै भनिन्, 'जेनजी पुस्ताको म आमा हो, र आर्यघाटमा पुगेपछि पनि आमा नै रहन्छु।'

उनले यो १० बुँदे सम्झौता अन्य कुनै सामान्य कागज होइन, भोलि राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनयोग्य बलियो दस्तावेज बन्ने विश्वास पनि व्यक्त गरिन्।

सम्झौता सफल बनाउन सहयोग गरेकाहरूलाई धन्यवाद दिँदै उनले सुदन गुरुङलाई ‘मेरो जेठो छोरा’ भन्दै विशेष रुपमा सम्बोधन गरेकी थिइन्।