काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको व्यापक भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गरेको थुनछेक आदेशपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी थुनामै रहने भएका छन्। 

अदालतले अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी तोके पनि उनले रकम नबुझाएका कारण उनलाई थुनामा पठाइएको विशेष अदालतले स्पष्ट पारेको छ।

ad

अदालतको आदेशमा उल्लेख छ— ‘प्रतिवादी प्रदीप अधिकारी अर्को मुद्दामासमेत थुनामा रहेका साथै आज तोकिएको धरौटी रकम नबुझाएकाले पुनः थुनामै पठाइयो।’

उता, सोही प्रकरणमा आरोपित प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीलाई भने १ लाख रुपैयाँ धरौटी तोकिएको थियो। भण्डारीले तोकिएको रकम बुझाएपछि उनी रिहा भएका छन्।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मंगलबारको थुनछेक बहसपछि अधिकारीसँग ५ लाख र भण्डारीसँग १ लाख धरौटी माग्दै रिहा गर्ने आदेश जारी गरेको थियो।

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा अख्तियारले महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ५५ जनामाथि मुद्दा दायर गरेको छ। उनीहरूलाई ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गर्दै भ्रष्टाचारको गम्भीर आरोप लगाइएको छ।

अधिकारी हाल नलिनचोक हेलिपोर्ट भ्रष्टाचार प्रकरणमा पनि पुर्पक्षका लागि थुनामा रहेका छन्। सो मुद्दामा १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको दाबी गरिएको छ। यसअघि भण्डारी भने हेलिपोर्ट मुद्दामा ५ लाख धरौटी बुझाएर रिहा भएका थिए।