
काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्टहरूको महासङ्घबीच आज भएको छलफल निष्कर्षविहीन बनेपछि देशभरका भन्सार नाकामा रोकिएको जाँच–पास प्रक्रिया भोलि पनि खुल्ने छैन।
आफ्ना विभिन्न माग प्रस्तुत गर्दै एजेन्टहरू आजदेखि मुलुकभर भन्सार मूल्य घोषणा र जाँच–पास सेवा ठप्प पारिरहेका छन्।
दिउँसो ३ बजे भएको वार्तामा भन्सार ऐन २०८२ का प्रावधान, त्यसले उत्पन्न गरेको व्यावहारिक समस्या, नियमावलीमा समेट्न सकिने विषयवस्तु तथा अन्य सहजीकरणका मुद्दा सम्बन्धमा दुवै पक्षबीच विस्तृत छलफल भएको थियो। स्रोतका अनुसार वार्ता सकारात्मक माहोलमा भए पनि ठोस सहमति भने हुन सकेन।
विभागले भन्सार घोषणा (क्लियरेन्स) कायम राख्दै वार्ता अघि बढाउन आग्रह गरे पनि महासङ्घले त्यो प्रस्ताव अस्वीकार गरेको छ। माग पूरा नभएसम्म मूल्य घोषणा बन्द नै राख्ने निर्णयमा महासङ्घ अडिग रहेको जनाइएको छ।
फलस्वरूप, भोलि पनि कुनै भन्सार एजेन्टले मूल्य घोषणा नगर्ने भएकाले देशभरको भन्सार प्रक्रिया थप एक दिन अवरुद्ध हुने निश्चित भएको छ।










Facebook Comments