
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक चुनावी प्रक्रियामा सहभागी हुन ९३ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। मंसिर २१, २२ र २३ गते निर्धारण गरिएको तीन दिने दर्ता अवधिभित्र दर्ता संख्या ९३ पुगेको आयोगले जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ एकल दल र गठबन्धनसहित ९३ दलले प्रतिस्पर्धामा सहभागी हुने मनसाय दर्ता गराएका हुन्। यसअवधिमा विभिन्न दलले संयुक्त रूपमा चुनाव लड्ने उद्देश्यसहित पाँचवटा छुट्टाछुट्टै निवेदन समेत दर्ता भएका छन्। तीमध्ये दुई समूहमा तीन–तीन दल र तीन समूहमा दुई–दुई दल सहभागी छन्।
एकल निर्वाचन चिन्हमार्फत संयुक्त रूपमा चुनाव लड्न दर्ता गराउने दलहरूमा- राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी छन्।
त्यसैगरी, दुई–दुई दल मिलेर एकल चिन्हमा चुनाव लड्न दर्ता गराउने समूहहरूमा - नागरिक सेवा पार्टी र सचेत नेपाली पार्टी, आम जनता पार्टी र जनादेश पार्टी नेपाल, नेकपा (माक्र्सवादी) र नेपाल कम्युनिस्ट पार्टी छन्।
आयोगका अनुसार दर्ता भएका दलहरूको सूची र संयुक्त प्रतिस्पर्धाका मोडालिटीको अन्तिम प्राविधिक छानविन प्रक्रिया अघि बढाइएको छ। प्रतिनिधि सभा सदस्यको समानुपातिक चुनावमा यस पटकको भागीदारी संख्या उच्च रहेको आयोगको मूल्यांकन छ।








Facebook Comments