काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ।

टीयु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा जम्मा ७८ रनमै समेटिएको थियो। ओपनर फाफ डु प्लेसिसले ३६ रन बनाए पनि अन्य ब्याटरले साथ नदिँदा विराटनगरको पारी धराशायी भयो। साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५ र कप्तान सन्दीप लामिछाने ३ रनमै पवेलियन फर्किए।

ad

सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेनले दुई–दुई विकेट हात पारे भने दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। ओपनर विनोद भण्डारीले ५२ बलमा ३ चौका र २ छक्का सहित ६३ रनको उत्कृष्ट पारी खेले। शेल्डन ज्याकसन र आरिफ शेखले समान २०–२० रन जोड्दा इशान पाण्डेले १३ रन योगदान दिए।

विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई–दुई विकेट लिए भने सूर्य तामाङ र साम हिजलेटले एक–एक विकेट उठाए।

गत सिजन जनकपुर बोल्ट्ससँग उपाधि गुमाएको सुदूरपश्चिमले यसपटक उपाधिका लागि आउने शनिवार प्रतिस्पर्धा गर्नेछ। उता पराजित विराटनगरले दोस्रो क्वालिफायरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचका विजेतासँग भिड्नेछ।