काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले  फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद निर्धारण गरेको हो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा मंसिर ५ गतेसम्म देशभर संकलन भएका मतदाताहरूको विवरण अद्यावधिक गर्ने निर्णय आयोगले मंसिर २० गते गरेको हो।

ad

आयोगले संकलित मतदाताको विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ। त्यसपछि मतदाताहरूले आगामी २०८२ मंसिर २६ गतेसम्म नामावलीमा रहेका त्रुटि सच्याउन निवेदन दिन सक्नेछन्।

यस अवधिमा झुट्टा विवरण दिई नाम समावेश गरेको भए उजुरी दिने, एकभन्दा बढी स्थानमा नाम भए एक ठाउँमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेकाहरूको नाम हटाउन सूचना दिनेजस्ता कार्यहरू गर्न सकिनेछ।

आयोगले मतदाताहरूको सहजताका लागि मतदान स्थलहरूको पुनरवलोकन समेत गरेको छ। मतदाताहरूले आफ्नो वडाभित्र रहेका मतदान स्थलमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गर्न सक्नेछन्। यसका लागि आयोगको अनलाइन प्रणाली वा सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाइएको उनले बताए । 

आयोगले मतदाता नामावलीलाई त्रुटिरहित र शुद्ध बनाउन आम मतदाता तथा सरोकारवालाहरूलाई मंसिर २६ गतेसम्म सक्रिय सहभागिता जनाउन अपिल गरेको छ। सबै प्रक्रिया पूरा भएपछि आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।