
काठमाडौं । मोरङमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा ७७ वर्षीया सासू इन्द्रमाया राईको मृत्यु भएको छभने ७० वर्षीय ससुरा भक्तबहादुर राई गम्भीर बिरामी भएका छन् ।
बेलबारी नगरपालिका–२ मा भएको उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घरमै खानामा विष मिसाइएपछि उनीहरू शनिबार बेहोस अवस्थामा फेला परेका थिए। स्थानीयले दिउँसो करिब ३ बजे भक्तबहादुरलाई घरनजिकैको खोल्सीमा अचेत फेला पारेका थिए। उनलाई घर पुर्याउँदा इन्द्रमाया पनि आँगनमै लडेर बेहोस अवस्थामा भेटिएकी थिइन्। घरको आँगनमा तीनवटा कुखुरा मरेको अवस्थामा भेटिएपछि विष खुवाइएको पुष्टि भएको प्रहरीले दाबी गरेको छ ।
उनीहरूलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज लगिएको थियो। कलेजमा उपचारका क्रममा शनिबार राति इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए। भक्तबहादुरको गम्भीर अवस्थामा उपचार भैरहेको छ।
प्रहरीका अनुसार उनले खानामा विष मिसाएको स्वीकार गरेकी छन् । कार्कीले विष खुवाएपछि बट्टा अँगेनामा डढाएको बताएकी छन् । प्रहरी स्रोतले जलेको विषको बट्टा पनि बरामद गरिसकेको जनाएको छ ।
पारिवारिक विवादका कारण कार्कीले राई दम्पतीलाई खानामा विष मिलाएको प्रहरीको भनाइ छ। कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।









Facebook Comments