
काठमाडौं । साउदी अरेबियाका पूर्वनेपाली राजदूत तथा प्राध्यापक सुरेन्द्रबहादुर श्रेष्ठको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ। उपचाररत अवस्थामा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनले अन्तिम श्वास लिएका हुन्। निधनको जानकारी उनका छोरा सञ्जय श्रेष्ठले दिएका छन्।
भारतको इलाहावाद विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले पाटन संयुक्त क्याम्पस, त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समय अध्यापन गरेका थिए। उनी सरस्वती कलेजका संस्थापक सदस्यमध्येका एक रहे।
श्रेष्ठले शैक्षिक क्षेत्रसँगै प्रशासनिक जिम्मेवारी पनि वहन गरेका थिए। उनले तत्कालीन लुम्बिनी र कोसी अञ्चलका अञ्चलाधीशका रूपमा सेवा दिए। त्यसपछि विश्व सम्बन्ध परिषद्का अध्यक्ष भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक गतिविधिमा सक्रिय भए।
विसं २०३७ पछि गठित संविधान आयोगमा सदस्यको रूपमा सहभागी भएका उनले विकेन्द्रीकरण आयोगमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। शैक्षिक यात्राका क्रममा उनले अमेरिकाका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा एक वर्षभन्दा बढी अध्यापन अनुभवसमेत प्राप्त गरेका थिए।
श्रेष्ठको अन्त्येष्टि सोमबार पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।









Facebook Comments