
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा थुनामै राखिने भएका छन्। विशेष अदालतले आइतबार दिएको आदेशअनुसार अधिकारीलाई न्यायिक हिरासतमै राखेर मुद्दा अघि बढाइने भएको हो।
अदालतका प्रवक्ता यज्ञराज रेग्मीका अनुसार अधिकारीसहित मुद्दामा तानिएका पूर्वनिर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गरिने निर्णय भएको छ। अख्तियारले दुवैजनालाई गत बुधबार नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको थियो।
भक्तपुरको नालिन्चोक हेलीप्याड निर्माणका क्रममा आर्थिक अनियमितता भएको आरोपमा अख्तियारले अधिकारीलगायत ६ जनाविरुद्ध १३ करोड ५७ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। यसअघि उनीहरू अख्तियारसमक्ष बयान दिँदै आएका थिए, तर तारेखमा अदालत उपस्थित भएपछि उनीहरूलाई नियन्त्रणमा लिएर मुद्दा औपचारिक रूपमा अघि बढाइएको हो।
महानिर्देशक अधिकारी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित अन्य हिनामिना प्रकरणमा पनि अनुसन्धानको दायरामा परेको बताइएको छ। अधिकारी जेल चलानसँगै यी सबै मुद्दामा थप कानुनी प्रक्रिया तीव्र हुने संकेत मिलेको छ।









Facebook Comments